बिमल गुरूङले खरसाङबारे दिएको वक्तव्यको चौतर्फी निन्दा

खरसाङ : जीटीएका पूर्व अध्यक्ष तथा गोजमुमो एक-का अध्यक्ष बिमल गुरूङले खरसाङबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै दिएको वक्तव्यको अहिले चौतर्फी निन्दा भइरहेको छ। तिनको उक्त बीस सेकेण्डको भिडियोमा बिमल गुरूङले खरसाङलाई केवल दिशा-पिसाब गर्ने ठाउँ भनी बताएका थिए, जसलाई समाजिक सञ्जालतिर बिमल गुरूङको यस प्रकारको वक्तव्यप्रति विनय-अनित पक्षका गोजमुमो समर्थकहरूले आफ्नो प्रतिक्रिया दिन थालेका छन्। पार्टीको पक्षबाट खरसाङ महकुमा मिडिया सेल प्रभारी अनुप रामुदामुले बिमल गुरूङको यस्तो बयानको खण्डन गर्दै उक्त बयानप्रति आफ्नो विचार व्यक्त गरेका छन्। तिनले भनेका छन्, जब 2011 मा जीटीए गठन भएपछि बिमल गुरूङ नै त्यसको अध्यक्ष भएका हुन्। त्यसर्थ त्यतिबेला तिनले खरसाङलाई किन केही गर्न सकेनन? अहिले आएर 2017 पछि विनय तामाङ अनि अनित थापाको नेतृत्वमा खरसाङ क्षेत्रमा जस्तो प्रकारले विकास भएको छ त्यसलाई देखेर पनि बिमल गुरूङको मन पोलेको हुनुसक्छ। बिमल गुरूङले यसखाले बयान दिएर केवल गोजमुमोलाई मात्र होइन तर सम्पूर्ण खरसाङवासीलाई नै आघात पुगेको कुरा पनि रामुदामुले बताएका छन्। तिनले बिमल गुरूङले यस्ता बयानहरू दिएकोले तिनको मानसिक हालत पनि ठीक नभएको जस्तो लागेको बताउँदै गत केही दिन अघि सिटोङको एउटा सभामा हाम्रा गोर्खे चेलीहरूमाथि दिएको वक्तव्यको पनि निन्दा गर्दै तिनको उक्त बयानले सम्पूर्ण नारीहरूलाई आघात पुगेको बताएका छन्। बिमल गुरूङले किन यस्ता बयानहरू दिँदैछन्, त्यसको सठीक जवाब दिनुपर्ने अनि जनता समक्ष माफी माग्नु पर्ने पनि बताएका छन्। बिमल गुरूङसँग अब केही मुद्दा नरहेकोले केवल जनतालाई भ्रममा पार्न यस्ता बयानहरू दिइरहेको समेत रामुदामुले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *