बिमल गुरूङ तीनदिने कालेबुङ भ्रमणमा, ममताले नै स्थायी राजनैतिक समाधान गर्ने दावी

कालेबुङ: कोरोना महामारीबीच आज गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमा अध्यक्ष बिमल गुरुङ तीन दिवसीय कालेबुङ भ्रमणमा आएका छन्। कालेबुङ भ्रमणमा आएका बिमल गुरुङ अनि केन्द्रीय समितिका पदाधिकारीगण तथा सेनिटाइज गर्ने टोलीका सदस्यहरू आज बिहानै कालेबुङ ब्लाइन्ड स्कूल पुगेका थिए। यस अवसरमा ब्लाइन्ड स्कूल परिसरमा गुरूङ अनि तिनका टोलीका सदस्यहरूले सेनिटाइज गर्नको साथै ब्लाइन्ड स्कूलका नानीहरूलाई मास्क पनि वितरण गरे। यस अवधि पत्रकारहरूसितको कुराकानीमा अध्यक्ष बिमल गुरूङले कोरोना महामारीको यस समयमा हाल जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा सेनिटाइज गर्ने तथा खाद्य अनि मास्कहरू वितरण गरिने कार्य गर्दै आइरहेको बताए। यसै क्रममा आफूहरूको लगभग 70-80 जनाको टोली आज कालेबुङ आइपुगेको जानकारी दिँदै यहाँ कालेबुङको विभिन्न ठाउँहरूमा पनि सेनिटाइज गर्नको साथै मानिसहरूलाई कोरोनाबारे सचेतना गराउँदै आवश्यकमन्दहरूलाई मास्क तथा खाद्य सामग्रीहरू वितरण गरिने बताए। तिनले एउटा प्रश्नको जवाब दिँदै आफुहरू जीटीए चुनाउको पक्षमा नरहेको तर गोर्खाहरूको स्थायी राजनीतिक समाधान मुख्यमन्त्री ममता ब्यानर्जीमार्फत् गर्नेछौं भनी तिनले दावी गरे। बङ्गाललाई उत्तर बङ्गाल र दक्षिण बङ्गाल दुई भाग गरिने भाजपाको जुन माग चलिरहेको छ त्यसबारे सोधिएको प्रश्नको जवाबमा जब-जब भाजपालाई राजनीतिक चट्टारो पर्न थाल्छ तब-तब यस्तै प्रकारको विभिन्न कुराहरूको उठान गर्ने गर्दछ भनी तिनले आरोप लगाए। भाजपा गोर्खाहरूप्रति ईमान्दार नरहेको तर मुख्यमन्त्री ममताले नै स्थायी राजनैतिक समस्या समाधान गर्नेछन् भनी बिमल गुरूङले बताए। कोरोना महामारीले गर्दा जारी आंशिक लकडाउन समाप्त भएपछि उक्त विषयलाई लिएर गोजमुमो टोलीले ममता ब्यानर्जीलाई भेट गर्ने पनि तिनले जानकारी गराए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *