बिमलपन्थी गोजमुमो खरसाङ समितिको सभा सम्पन्न

खरसाङ : बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समिति अनि टाउन कमिटीको संयुक्त सभा पार्टी कार्यालयमा सम्पन्न भयो। पार्टीका टाउन कमिटी उपाध्यक्ष सुधीर गुरूङको अध्यक्षतामा सम्पन्न सभालाई टाउन कमिटी सचिव विकास तिरूवाले सञ्चालन गरेका थिए। सभामा पार्टीका संगठनलाई अझ विस्तार गरिने, महकुमा अनि टाउन समितिमा नयाँ कार्यकारिणी सदस्यहरू थप्ने अनि आगामी दिनमा सम्पन्न गरिने विभिन्न कार्यक्रमहरूको बारेमा चर्चा-परिचर्चा गरियो। यसपछि आगामी दिनमा सभाको आयोजना गरेर पार्टीको महकुमा समिति अनि टाउन कमिटीमा कार्यकारिणी सदस्यहरू थप्ने निर्णय लिइएको बताइको छ। यसै सभामा पार्टीको महकुमा समिति अनि टाउन कमिटीको एउटा संयुक्त टोली पातलेबाँस पुगेर गोजमुमो अध्यक्ष विमल गुरूङसित भेट गरी खरसाङमा पार्टीको स्थितिबारेमा अवगत गराउने निर्णय गरिएको छ। सभामा वक्ताहरूले खरसाङमा पार्टी बलियो बन्दै गएको दावी गर्दै विगतको समयमा निष्क्रिय रहेका पार्टी कार्यकर्ताहरू अहिले पार्टीको क्रियाकलापमा सहभागी भइरहेका छन्‌। कतिपय नयाँ सदस्यहरू पार्टीमा जोड़िन चाहेका छन्‌। पार्टीमा सामेल हुन आउने सबैलाई स्वागत गरिने छ भनी बताए। सभामा गोजमुमो खरसाङ महकुमा समिति सचिव सूरज छेत्री, सांगठनिक सचिव देवु गुरूङ, सहसचिव विवेक मोक्तान, कोषाध्यक्ष सहदेव मंग्राती, कार्यकारी सदस्य भानु राई आदिले वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *