विनय खेमा गोजमुमोको दार्जिलिङ, खरसाङ र मिरिक कमिटी विघटन, पार्टीमा नेतृत्वहरूको फेरबदल गरिने घोषणा

दार्जिलिङ : गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले विधानसभा चुनाउपछि आज पहिलोपल्ट प्रेस वार्ता गरेर पार्टीको विभिन्न महकुमा समितिहरू विघटन गरेको तथा पार्टीमा अब धेरै फेरबदल गर्ने घोषणा गरेका छन्। तिनले भने, मलाई कौरवको सेना भन्दा पाण्डवको सेना चाहिएको छ। कम्ती नेतृत्व होस् तर फलदायक होस्। तिनले आज प्रेस भेलामा गरेका घोषणाहरूमध्ये विशेष गरेर हालै विधानसभा चुनाउमा आफ्नो पार्टीको तीनजना उम्मेद्वारमध्ये एकजना उम्मेद्वार विजय भएको जानकारी गराउँदै भोट प्रतिशतको हिसाबले हेर्दा एकल राजनैतिक दल भएर गठबन्धन नगरी चुनाउ लड्ने अन्य दलहरूको तुलनामा भोटको प्रतिशत उत्तर बंगालमा नै बढेर गएको दावी गरे। गत विधानसभा चुनाउमा दुईवटा आसनमा पार्टीको पराजय भएपछि नै पार्टीमा संशोधन गर्दै पार्टीको सांगठनलाई मजबुत गर्नको निम्ति आफूहरूले अब पार्टी नेतृत्वमा धेरै फेरबदल गर्ने जानकारी दिए। अबदेखि समर्थकहरूलाई साथमा लिएर आउने नेतृत्वलाई मात्र पार्टीमा पद दिने तर आफू मात्र आए साधारण सदस्यता दिने साथै चरणबद्ध तरिकाले पार्टीमा फेरबदल गर्दै जाने तिनले घोषणा गरे। पार्टीको मोठ 23 वटा भातृ संगठनको सम्पूर्ण देखरेख पार्टी अध्यक्ष आफू स्वयम्‌ले गर्ने, कुनै पनि पार्टीगत निर्णय लिनुपर्दा पार्टीका महासचिवदेखि लिएर कार्यकर्तासम्मले अध्यक्षको परामर्श लिएको हुनुपर्ने नत्र उक्त निर्णय मान्य नगर्ने तिनले बताए। यसको साथै अबदेखि पार्टीको कोही पनि प्रवक्ता नरहने घोषणा गर्दै कुनै पनि आधिकारिक घोषणा, प्रेस वार्ता, सार्वजनिक घोषणा गर्नुपरे आफैले नै गर्ने विनय तामाङले बताए। पार्टीको नाम गरेर कुनै पनि व्यक्तिले दिएको विज्ञप्तिलाई मीडियामा मान्यता नदिने समेत तिनले प्रेसलाई अनुरोध गरेका छन्। दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक सौरेनी महकुमा, जिल्ला समिति अनि भातृ संगठनलाई हेर्नको निम्ति पार्टीको उच्च पदाधिकारीहरूको सभा राखेर एउटा मोनिटरिङ कमिटी गठन गर्ने भएको छ। यसैगरी, केन्द्रीय समितिलाई पनि चलाउनको लागि मोनिटरिङ कमिटी गठन गर्ने तिनले जानकारी दिएका छन्। नयाँ कमिटी गठन नभएसम्म तथा महासचिव अनित थापाले रिपोर्ट नबुझाएसम्म दार्जिलिङको निम्ति आलोक कान्तमणि थुलुङ, सञ्जय थुलुङ, विक्रम राई, पुरण थामी र तिलक देवान खरसाङको निम्ति समरदीप ब्लोन तथा अनित थापाको परामर्शअनुसार अन्य चारजना, मिरिक सौरेनी पानीघट्टाको निम्ति एसएन घिसिङ, फुबी राईलाई जिम्मा दिएको छ। अर्कोतिर, पार्टीको कालेबुङ जिल्ला कमिटी लगायत अन्य विभिन्न भातृ संगठनहरूबारे शीर्ष नेतृत्वहरूसित केही दिनको अवधिमै बैठक गरेर निर्णय लिइने कुरा आज विनय तामाङले जानकारी दिएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *