विनय तामाङ र पूर्व विधायक रोहित शर्मा तृणमूल कङ्ग्रेसमा सामेल

कोलकाता : जीटीएको पूर्व चेयरम्यान विनय तामाङ अनि गोजमुमो खरसाङ समष्टिका पूर्व विधायक रोहित शर्मा आज आधिकारिक रूपमा तृणमूल कङ्ग्रेसमा सामेल भए। मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीले हाल बङ्गालमा गरिरहेको चौतर्फी विकास कार्यप्रति आकर्षित भएर नै यी दुईजना पहाडका नेता तृणमूल कङ्ग्रेसमा आज सामेल भएको कुरा तृणमूल नेता मलय घटकले पत्रकार सम्मेलन मार्फत् जानकारी गराए। तृणमूल कङ्ग्रेसका राज्य महासचिव अभिषेक ब्यानर्जीसित गत केही दिन अघिदेखि सम्पर्कमा रहेर यी दुई पहाडका नेता तृणमूलमा सामेल भएको बताइएको छ भने आज ती दुईजना विनय तामाङ र रोहित शर्माले तृणमूल पार्टीको झण्डा ग्रहण गरे।


यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विनय तामाङले आफूले गोजमुमो पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको ठिक 164 दिनपछि आज आधिकारिक रूपमा तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए। तिनले तृणमूल नेत्री ममता ब्यानर्जीको मुग्धकण्ठले प्रशंसा गर्दै आगामी 2024-को चुनाउमा ममता ब्यानर्जीलाई राष्ट्रिय स्तरका नेताको रूपमा हेर्न चाहेको बताए। अर्कोतिर, विनय तामाङले एउटा विज्ञप्ति जारी गरेर आफूले गत 15 जुलाई 2021-को दिन राजीनामा दिएपछि आजसम्म मानसिक, आत्मिक, शारीरिक, धार्मिक तथा आर्थिक रूपमा सहयोग पुर्‍याएर यस घडीसम्म साथ दिएर प्रेरणा र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। यसैगरी, खरसाङ समष्टिबाट दुईपल्ट विधानसभा चुनाउ जितिसकेका गोजमुमोका पूर्व विधायक रोहित शर्माले आफ्नो सम्बोधनमा तृणमूल नेत्री ममता ब्यानर्जीले बङ्गालमा गरिरहेको चौतर्फी विकास कार्यप्रति आफू आकर्षित बनेको साथै पहाडको विविध समस्याहरू तृणमूल मार्फत् नै समाधान हुनसक्ने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *