विनय तामाङ र रोहित शर्माको गौतम देवसित सिलगढीमा बैठक

सिलगढी : तृणमूल कङ्ग्रेसमा सामेल भएको ठिक तीन दिनपछि आज जीटीएका पूर्व चेयरम्यान तथा तेस्रो अध्यायका प्रणेता विनय तामाङ र खरसाङका पूर्व विधायक रोहित शर्माले सिलगढी नगरनिगमका प्रशासक तथा तृणमूल नेता गौतम देवसित तिनकै कार्यालयमा भेट गरे। यस अवधि पहाडका यी दुई नेताहरूले गौतम देवसित औपचारिक रूपमा भेट गर्नको साथै सांगठनिक विषयलाई लिएर एउटा बैठक गरे। बैठकपछि पत्रकारहरूसितको कुराकानीमा विनय तामाङले आगामी सिलगढी नगरनिगमको चुनाउमा यहाँको गोर्खा बाहुल वार्डमा आवश्यक परे अथवा पार्टीले निर्देश दिएको खण्डमा आफू चुनाउ प्रचारको निम्ति आउने बताए। तिनले आफू लगायत पूर्व विधायक रोहित शर्मा गत 24 दिसम्बरको दिन कोलकातामा औपचारिक रूपमा तृणमूल कङ्ग्रेसमा सामेल भएपछि आज गौतम देवलाई भेट गर्न आएको बताए। अर्कोतिर, गौतम देवले पहाडको विकास तथा सांगठनिक विषयलाई लिएर आज विनय तामाङ र रोहित शर्मासित कुराकानी गरेको बताए। तथापि, यस अवधि सिलगढी नगरनिगम चुनाउलाई लिएर कुनै कुराकानी नभएको तर आवश्यक परे यस विषयमा चर्चा गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *