विभिन्न मागमा पश्चिमबंग कलेज क्याजुअल इम्प्लोइज समितिका कर्मचारीद्वारा पथ अवरोध

जलपाईगढी : नोकरी स्थायीकरण लगायत अन्य विविध मागको साथमा पश्चिमबंग कलेज क्याजुअल इम्प्लोइज समितिका कर्मचारीहरूले हातमा थाल लिएर जलपाईगढी-सिलगढी राज्य सडक अवरोध गरे। यहीँ माग लिएर गत 9 दिनदेखि आनन्द चन्द्र कलेज गेटअघि अस्थायी कलेज कर्मचारीहरू अनशनमा बसेका छन्। प्राप्त जानकारीअनुसार पश्चिमबंग कलेज क्याजुअल इम्प्लोइज समितिको जलपाईगढी शाखाका कर्मचारीहरूले नोकरी स्थायीकरण गरिनुपर्ने मागमा गत 13 अक्टोबरदेखि जलपाईगढी आनन्द चन्द्र कलेजको गेटअघि अनशन शुरू गरेका छन्। जिल्लाका धेरै संख्यामा क्याजुअल कर्मचारीहरू लगभग 20-25 वर्षदेखि अस्थायी कर्मचारीको रूपमा कार्य गर्दै आइरहेका छन्। कलेजका क्याजुअल कर्मचारी र कलेजका अतिथि शिक्षकलाई एकैसाथ नियुक्त गरेको थियो भने अतिथि शिक्षकहरूलाई स्थायीकरण गरे तापनि क्याजुअल कर्मचारीहरूलाई हालसम्म स्थायीकरण नगरिएको तिनीहरूको आरोप रहेको छ। गत लगभग 5 वर्षदेखि नोकरी स्थायीकरण गरिनुपर्ने मागमा राज्यभरिमै आन्दोलन भइरहेको छ। राज्यका शिक्षा विभाग तथा शिक्षा मन्त्रीले बारम्बार वाचा गरे तापनि सो पुरा नगरेकोले गर्दा नै आज बाध्य भएर हातमा थाल लिएर अनशन लगायत पथ अवरोध गरे कलेजका क्याजुअल कर्मचारीहरूले। समितिका जिल्ला सभापति उत्तम सोमले आन्दोलन गर्न बाहेक आफूहरूकोमा अन्य कुनै विकल्प नरहेको बताउँदै राज्यका शिक्षा मन्त्रीले स्थायीकरण गर्ने धेरैपल्ट वाचा गरे तापनि सो पुरा गरेको छैन। गत 9 दिनदेखि आफूहरूद्वारा अनशन जारी रहे तापनि कुनै सरकारी अधिकारीहरूले अनशन स्थलमा आएर कुनै खोज खबर नलिएको तिनले बताए। अनशन अवधि धेरैजना बिरामी भएपछि तिनीहरूलाई आफूहरूले नै अस्पतालमा पुर्‍यायौँ। यसपछि पनि स्वास्थ्य विभागले कुनै खबर नलिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *