विभिन्न मागमा राजगञ्ज कलेजका विद्यार्थीहरूद्वारा विक्षोभ तथा ज्ञापन पत्र प्रदान

राजगञ्ज : सरस्वती पुजाको खिचडी नपाएको साथै अन्य विविध मागलाई लिएर राजगञ्ज कलेजका विद्यार्थीहरूले आज कलेजमा विक्षोभ प्रदर्शन गरे। यसको साथै कलेजका प्रिन्सिपललाई एउटा ज्ञापन पत्र चढाए। राजगञ्ज कलेजका विद्यार्थीहरूले विभिन्न माग गर्दै प्रिन्सिपल रूम अघि विक्षोभ प्रदर्शन गरे। पुनः सबै विद्यार्थीहरूलाई सरस्वती पुजाको प्रसाद वितरण गरिनुपर्ने, कलेजमा पिउने पानीको व्यवस्था लगायत गत 3 वर्षदेखिको सरस्वती पुजाको हिसाब दिइनुपर्ने ती विक्षोभकारी विद्यार्थीहरूले माग गरेका छन्। यस सम्बन्धमा विद्यार्थी यासिन अलीले भने, गत 2 वर्षदेखि कलेजमा सरस्वती पुजा गरिएको छैन, खिचडी पनि खुवाएको छैन। तर यस वर्ष कलेजमा सरस्वती पुजा गर्नको साथै खिचडीको व्यवस्था गरे तापनि धेरैजना विद्यार्थी खिचडी नपाएको तिनले बताए। उक्त कलेजमा लगभग 1000 जना विद्यार्थीहरू रहे तापनि केवल 500 जनाको लागि मात्र खिचडीको व्यवस्था गरिएको थियो। यसैले कलेज पुनः खिचडीको व्यवस्था गरिनुपर्ने, कलेजमा पिउने पानीको व्यवस्था, विद्यार्थीहरूलाई परिचय पत्र लगायत अन्य विविध मागमा आज विद्यार्थीहरूले कलेजमा विक्षोभ प्रदर्शन गरेको बताइएको छ। अर्कोतिर, राजगञ्ज कलेजका प्रिन्सिपल डा. हरप्रसाद मिश्रले भने, कलेजका कलचरल कमिटी तथा विद्यार्थीहरूका प्रतिनिधिसित कुराकानी गरेर नै खिचडीको व्यवस्था गरिएको थियो। पुजाको दिन मौसम खराब रहे तापनि 1000 जना विद्यार्थीहरूको लागि खिचडी बनाइएको थियो। पुजाको समय केवल 30 जना विद्यार्थीहरू मात्र कलेजमा उपस्थित थिए, तर पछि विद्यार्थीहरूको संख्या बढेको तिनले बताए। खिचडीलाई लिएर भएको समस्याको विद्यार्थीहरूसित कुराकानी गरेर समाधान गरिने प्रिन्सिपल मिश्रले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *