बीके राई हिमालयन प्लान्टेसन वर्कर्स युनियनको अध्यक्ष चयन

दार्जिलिङ : हिमालयन प्लान्टेसन वर्कर्स युनियनको (एचपीडब्ल्युयु) केन्द्रीय समितिको साङ्गठनिक सभा गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा सम्पन्न भयो। गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई संगठनका सचिव धिरज राईले सञ्चालन गरेका थिए। कोरोना संक्रमणलाई ध्यानमा राखेर राज्य सरकारद्वारा जारी कोरोना सम्बन्धी प्रतिबन्धलाई पालन गर्दै सभामा केवल केन्द्रिय समितिका सदस्यहरू उपस्थित थिए। गोरामुमो केन्द्रीय समिति सदस्य बिरेन लामा, महासचिव एसके लामा, पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङको उपस्थितिमा सम्पन्न सभामा अध्यक्ष मन घिसिङको सुझाउपछि आज केन्द्रीय कार्यालयमा एचपीडब्ल्युयु केन्द्रीय समितिको व्यापक छलफल गरेपछि संगठनले सर्वसम्मतिले बीके राईलाई एचपीडब्ल्युयुको अध्यक्ष चयन गरेको बताइएको छ। बीके राईले 1986 सालको आन्दोलनमा आफ्नो अहम भूमिका निर्वाह गरेको साथै पार्टीको संस्थापक अध्यक्ष सुबास घिसिङको नजिक रहेर कार्य गरेका थिए। तिनी अवकाशप्राप्त शिक्षक हुन्। विगतको समयमा एचपीडब्ल्युयु-को महासचिव पदमा रहेर श्रमिकहरूको हक र हितको निम्ति तिनले धेरै कार्य गरेका थिए भने हाल तिनी गोरामुमो केन्द्रीय समितिका सदस्य पनि हुन्। उक्त सभामा कार्यालय सचिवको पदमा सर्वसम्मतिले प्रणय राईलाई चयन गर्यो। एचपीडब्ल्युयु-को अध्यक्ष पदमा चयन भएपछि बीके राईले आफ्नो सम्बोधनमा भने, संगठन चलाउनुको निम्ति अनुशासन चाहिन्छ। एचपीडब्ल्युयु-ले श्रमिकहरूको हक र हितको निम्ति कार्य गरिरहेको छ र गरिरहने छ। एउटा सामूहिक नेतृत्व हुनुपर्छ भन्दै आफूलाई पार्टीले सम्मान दिँदै जुन पद प्रदान गरेको छ त्यसको निम्ति अध्यक्ष मन घिसिङ, एचपीडब्ल्युयु केन्द्रीय समितिलाई तिनले धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *