ब्ल्याक फङ्गस रोगको उपचार राज्यमा नि:शुल्क गरिनु पर्नेबारे मुख्यमन्त्रीलाई सासंद राजु विष्टको पत्राचार

सिलगढी: राज्यमा बढ्दो म्युकोरमाइकोसिस अथवा ब्ल्याक फङ्गस रोगको उपचार गर्न धेरै महङ्गो लाग्नेबारे राज्यका मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई ध्यानाकर्षण गराउँदै दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्टले यस बिमारीको उपचार राज्यमा निःशुल्क रूपमा गरिनु पर्नेबारे पत्राचार गरेका छन्। स्मरण रहोस, ब्ल्याक फङ्गसले हालसम्म उत्तर बङ्गालमा मोठ ६ जना रोगीहरुको मृत्यु भइसकेका छन् भने अझ केही मानिसहरू सिकिस्त भएका छन्। सासंद विष्टले जारी विज्ञप्तिमा बताए अनुसार तिनले डाक्टरहरूसँग यसबारे चर्चा गर्दा ब्ल्याक फङ्गसको मामिलाहरूको कारण मधुमेह, लामो समयसम्म अस्पताल बसाई, फोहर वातावरण, एन्टिबायोटिक तथा स्टेरोइडहरूको जथाभावी प्रयोगले गर्दा हुनसक्ने सम्भावना रहेको बताइएको छ। कोभिडको पहिलो लहर अवधि कोभिड सेवाको मानक स्थापित गरेर त्यसलाई व्यवहारमा ल्याइएको थियो। कोभिड उपचार केन्द्रहरूमा नियम अनुसार कड़ा निगरानी राखिएको थियो तर अहिलेको स्थितिमा कोभिड बिरामीहरूको उपचार तथा सेवा गरिँदा त्यस्तो प्रकारको निगरानीको स्तर तथा विधि अनि कुनै नियन्त्रणको व्यवस्था नरहेको दावी गर्दै परिणामस्वरूप एन्टिबायोटिक र स्टेरोइडहरूको अत्याधिक दुरुपयोग अनि जथाभावी प्रयोग भइरहेको कुरो सर्वविदितै छ भनी तिनले बताएका छन्। यसको साथै उत्तर बङ्गालमा सरकारी स्वास्थ्य सेवा केन्द्रहरूको अवस्था पहिलेदेखि नै दयनीय रहेको हुँदा हाल मानिसहरू आफ्नै खर्च बेहोर्न सक्ने अस्पतालमा कोभिड उपचारको लागि दौड़धूप गरिरहेको तिनले बताएका छन्। तिनीहरूले पाइरहेको उपचारको कुनै निगरानी नभइरहेको तथा त्यसमाथि कुनै नियन्त्रण नभएको बताउँदै यथोचित उपचार नियमहरूको पालन हुन सकोस् भन्ने कुरा जारी विज्ञप्तिमा सासंद विष्टले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *