बोनसको माग गर्दै मिरिक महकुमा शासक अनि बीडीओ-लाई ज्ञापन पत्र

मिरिक (निसं): चिया श्रमिक सुरक्षा समिति मिरिकका प्रतिनिधिहरूको एउटा टोलीले आज सोमबार मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणीसित भेट गरेर मिरिक महकुमा शासकलाई एउटा ज्ञापन पत्र बुझाए। उक्त ज्ञापन पत्रमा चिया श्रमिकहरूलाई पुजा बोनस यथाशीघ्र 20 प्रतिशतको दरले एकै किस्तीमा वितरण गरिनु पर्ने माग गरिएको छ। यसको साथै बोनसको मागलाई लिएर समितिले आगमी 21 सेप्टेम्बरको दिन एउटा ऱ्यालीको पनि आयोजना गरिने भएको छ। चिया श्रमिक सुरक्षा समितिका राजीव राईले यसबारे जानकारी दिँदै विशेष गरेर चिया श्रमिकहरूले प्रत्येक वर्ष न्यूनतम बोनस पाउँछन्, जसले गर्दा तिनीहरूलाई यस अवधि आफ्नो आधारभूत आवश्यकताहरू पुरा गर्न असम्भव हुन्छ। यो तथ्यलाई कसैले नकार्न सक्दैन। चियाकमानहरूमा धेरै ट्रेड युनियन हुँदाहुँदै पनि चिया बगानमा काम गर्ने मजदुरको सुख र हितमा व्यवस्थापन र अन्य स्रोतले कम चासो राखेको छ।


यसवाहेक, यो वर्ष बोनस अझसम्म पनि दिएको छैन अनि चियाकमानका मालिक पक्षले बोनस प्रतिशतलाई लिएर बार्गेनिङ गरिरहेको छ। यसले विशेष गरेर चियाकमानमा काम गर्ने मजदुरलाई पीडा दिएको छ । तसर्थ, चिया बगानमा काम गर्ने मजदुरको नाजुक अवस्था उल्लेख गर्दै यस विषयलाई गम्भीरता लिइयोस् भनि समितिका प्रतिनिधिहरूले प्रशासनिक अधिकारीहरूसित भेट गरेर ज्ञापन पत्र बुझाएको तिनले बताए। तिनले चिया श्रमिकहरूलाई एक किस्तामा बोनस वितरण गर्नपर्छ भन्ने मुल माग समितिको रहेको कुरा अवगत गराए। यसैगरी, समितिको तर्फबाट मिरिक खण्ड विकास अधिकारीलाई पनि आज ज्ञापन बुझाएको जानकारी गराँउदै आउँदो 21 सेप्टेम्बरमा गरिने ऱ्यालीमा सम्पूर्ण चिया श्रमिकहरूलाई सहभागी भइदिने अनुरोध पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *