मङपु : हिमगिरी युथ क्लब मङपुको आयोजनामा सम्पन्न भएको फुटबल खेलको फाइनल म्याच आज पहाडी युवा संघ रोङचोङ बनाम टिस्टा बीएससीमाझ भीडन्त भयो। स्थानीय विभागीय जन मैदानमा इन्द्र बहादुर मोहराको अध्यक्षतामा सम्पन्न भएको आजको फाइनल खेलमा पहाडी युवा संघले ट्राइ ब्रेकर मार्फत् टिस्टी बीएससीलाई पराजित गर्यो। खेल शुरू भएको लगत्तै 3 मिनटमा पहाडी युवा संघ रोङचोङका खेलाडी सागर ठटाल (जर्सी नम्बर 10)-ले सुन्दर गोल गरेर टोलीलाई बढत दिलाए भने यसपछि टिस्टाको पक्षमा खेलको 21औँ मिनटमा तुषार विश्वकर्माले विपक्षी नेटमा गोल छिराएर स्कोर बराबरी 1-1 मा पुर्याए।
यसपछि खेलको अन्तसम्म कुनै गोल हुन नसकेपछि खेल बराबरीमा समाप्त भएकोले यसको छिनाफानाको निम्ति ट्राइब्रेकर खेलाइयो। उक्त ट्राइब्रेकरमा 6 गोलको विरुद्ध 7 गोल गरेर पहाडी युवा संघ विजय बन्यो। प्रतियोगिताको उत्कृष्ट गोलकिपर टिस्टाका एलेस राईलाई चयन गरियो। यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलको प्रदर्शन छोटा मङमाया फुटबल टोलीलाई बेस्ट टीमको ट्रफी प्रदान गरियो। आजको फाइनल खेलमा निर्णायक फानुस लेप्चा, सह निर्णायक एनोरा लेप्चा र सुभाष थापा रहेको थियो। आजको च्याम्पियन टोली पहाडी युवा संघलाई समारोहका प्रमुख अतिथि सुरेन्द्र प्रधानको बाहुलीबाट ट्रफी सहित नगद राशि प्रदान गरियो।