व्यवस्थाको चौकीमा बस्नेहरूले गर्दा नै श्रमिकहरूले दुःख पाइरहेका छन् : डीके गुरूङ

दार्जिलिङ : व्यवस्थाको चौकीमा बस्नेहरूको कारणले गर्दा नै श्रमिकहरूले हुनसम्मको दुःख पाइरहेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ-का केन्द्रीय अध्यक्ष डीके गुरूङले मन्तव्य पोखेका छन्। गत केही दिन अघिदेखि सहरको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षको ब्यानरमा कार्यक्रम चल्दै आइरहेको छ। यसै क्रममा आज जोइण्ट फोरमले चिया श्रमिकहरूले भोग्दै आइरहेका समस्याहरूलाई लिएर कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङले दार्जिलिङ पार्वतीय क्षेत्रको 70 प्रतिशत भूभागहरूमा श्रमिक मतदाताहरू बसोबासो गर्ने गर्छन् तर हाम्रा यी श्रमिक मतदाताहरूको अवस्था सोचनीय रहेको छ। श्रमिकहरूले भोग्न परेको एवम् भोग्दै आइरहेको समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउने काम हिल जोइण्ट फोरमले गर्दै आइरहेको अध्यक्ष गुरूङले बताए। आजको कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनका अध्यक्ष सुरज सुब्बा, क्रामाकपा श्रमिक संगठनका सुनिल राई, सीपीआईएम श्रमिक संगठनका सचिन खाती, दिलिप दिलपाली, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरूङ र सिन्कोना बगानलाई प्रतिनिधित्व गर्दै पेमा मोक्तान लगायत श्रमिकहरूको हितमा आवाज उठाइरहने वीपी छेत्री पनि उपस्थित थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरूङले भने, गोर्खाहरूको स्वाभिमानलाई यथावत राख्न गोर्खा स्वाभिमान संघर्षको ब्यानरमा विगत सात दिनदेखि कार्यक्रम निरन्तर रूपमा चल्दै आइरहेको छ। हामी यता उता सबैतिर लथालिङ भताभुङ भइसकेका छौँ। हामी चिया श्रमिकहरूसित सम्बन्धित संगठनहरू भएको हुनाले गर्दा वर्तमानमा चिया श्रमिकहरूको जुन अवस्था छ, यसदेखि हामी अति नै चिन्तित छौ, चिया श्रमिकहरूको स्वाभिमानलाई जोगाउन एवम् बचाउन हामी सडकमा ओर्लिएका हौँ। पहाडको व्यवस्थाको चैकीमा बस्नेहरूले चिया श्रमिकहरूको अवस्थालाई अझ बिगार्ने काम गर्दै आइरहेका छन्। गत 2017 देखि यता पहाडको चिया श्रमिकहरूको अवस्था अझ सोचनीय अवस्थामा पुर्‍यादिएको छ। बिहानदेखि साँझसम्म हाम्रो चिया श्रमिकहरू बगानमा खट्ने गर्छन्।


यस अवधि मुसालधारे पानीले चुट्छ, जुगाले खान्छ अनि आठ घण्टा खटेर गरेको कामको दाम 2 सय 32 रुपियाँ पाउँछ, यति धेर महँगाईको समयमा यति कम रोजीले घर चलाउन सकिन्छ? भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साए। दसैँ अघि पुजा बोनस दिने प्रथा छ अनि श्रमिक नियम कानुन अनुरूप पनि पुजा बोनस दिनैपर्छ तर 2017 देखि यता पुजा बोनसको लागि लडाइँ गर्ने अवस्था आएको छ। बाटोमा बसेर धरना गर्नुपर्ने अवस्था आएको छ, जुलूस गर्ने स्थिति आएको छ यति गर्दा पनि 2017 देखि हाम्रो चिया श्रमिकहरूले किस्तामा पुजा बोनस थाप्नु पर्दैछ। यो सबै पहाडको व्यवस्थाको चैकीमा अहिले जो बस्दैछ, तिनीहरूकै कारणले गर्दा यस्तो भएको हो भन्दै अध्यक्ष गुरूङले आरोप लगाए। चिया श्रमिकहरूले भोग्न परेको अनि भोग्दै आएका यस्ता समस्याहरूको विरोधमा हामी सबै श्रमिक संगठनहरू एकबद्ध हुनुपर्छ भन्दै तिनले सबैसित अपील गरे। हाम्रो श्रमिकहरू दुई चार पुस्तादेखि चिया बगानहरूमा काम गर्दै आइरहेको छ तर हामीलाई एउटा पाइखाना बनाउँदा पनि मालिकबाट अनुमति लिन पर्दैछ। श्रमिकहरूको अवस्था देखेर कुनै पनि सामाजिक संघ संस्थाहरूले घर निर्माण गरिदिन्छु भन्दा अथवा सरकारद्वारा जारी गरिएको योजना अनुरूप घरको निर्माण गर्दा बगानको मालिकबाट अनुमति लिनुपर्छ यो कस्तो विडम्बना हो भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साए। पहाडको चिया बगानहरूमा विल्डरहरूलाई होमस्टे बनाउने अनुमति दिइँदैछ तर युगौँ युगौँदेखि बसोबासो गर्ने श्रमिकहरूको घर घडेरी समेत आफ्नो नाममा छैन। यी विषयहरूलाई जोइण्ट फोरमले प्राथमिकताको साथ काम गर्ने अध्यक्ष गुरूङले बताए। पहाडमा कानुन भन्ने छँदै छैन, जोसँग रुपियाँ पैसा छ, सत्ताको चौकीमा बसेको छ तिनीहरूले कानुनलाई कुल्चेर मनमानी गरिरहेको अध्यक्ष गुरूङले गम्भीर आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *