कोलकाताको सहिद मीनारको थीममा बनिँदैछ राजगञ्जमा काली पूजाको पन्डाल

राजगञ्ज : फाटापुकुर किशोर संघ क्लबले कोलकाताको सहिद मीनारको शैलीमा यस वर्ष काली पूजाको मन्डप बनाउने भएको छ भने यसको निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। राजगञ्जको फाटापुकुर किशोर संघ क्लबले कोरोना परिस्थितिमा श्रद्धालुहरूलाई खुसी दिने उद्देश्य लिएर उक्त पहल गरेको बताइएको छ। यस वर्ष फाटापुकुर किशोर संघ क्लबको काली पूजाले 27औँ वर्ष पुरा गरेको छ भने पुजाको थिम मनुमेन्ट अर्थात् सहिद मीनार रहेको छ। उक्त क्लबले यस वर्ष स्थानीय लागयत पूजा घुम्न आउने श्रद्धालुहरूलाई आकर्षित पार्न सहिद मीनारको थिममा मन्डप बनाउने पहल गरेको बताइएको छ। क्लबका संस्कृति सचिव शुभङ्कर घोषले बताएअनुसार उक्त क्लब धेरै वर्षदेखि थिमको माध्यमद्वारा पूजाको आयोजना गर्दै आइरहेको छ, तर गत वर्ष कोरोना महामारीले गर्दा समस्या भएको थियो। यस वर्ष उक्त क्लबले कोलकाताको सहिद मीनारको शैलीमा पूजा पन्डाल बनाइरहेको छ भने काली माताको प्रतिमा 10 फिट अग्लो रहेको बताइएको छ। यसको साथै पूजा पन्डाललाई चन्दननगरको बिजुलीको लाइटहरूले सजाइनेछ। कोरोनाको सबै नियमहरू पालन गर्दै उक्त क्लबले काली पूजाको आयोजना गर्नको साथै कोरोनाबारे मानिसहरूलाई जागरूक गराइने तिनले बताए। यसको साथै पूजामा केही दिन सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *