चलिरहेको ट्रेनको दैलोमा फोटो खिँच्दा ट्रेनबाट लडेर युवक गम्भीर रूपमा घाइते

सिलगढी : चलिरहेको ट्रेनको दैलामा उभिएर फोटो खिँच्दा रेल लाइन नजिक रहेको फलामको एउटा पोलमा ठोक्किँएपछि एकजना युवक ट्रेनबाट झरेर गम्भीर रूपमा घाइते भएका छन्। घटनाक्रमअनुसार बागुईहाटीबाट लगभग 25 जनाको एउटा टोलीका सदस्यहरू कञ्चनकन्या एक्सप्रेसमा सवार भएर डुवर्स घुम्न आएका थिए भने ट्रेन सेभोक स्टेसन नजिक गुल्मा एरियामा पुगेको समय उक्त टोलीका शोभन विश्वास नाम गरेको युवक ट्रेनको दैलो नजिक पुगे। यसपछि तिनले दैलोमा उभिएर फोटो खिँच्ने क्रममा रेल लाइन नजिक रहेको फलामको पोलसित ठोक्किँदा तिनी ट्रेनबाट तल झरेर गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि तत्कालै चेन खिँचेपछि उक्त ट्रेन रोकियो। यसपछि उक्त युवकलाई घटनास्थलबाट उद्धार गरेर सिलगढी सेभोक रोडको एउटा निजी नर्सिङ होममा भर्ना गरिएको छ। तिनको टाउकोमा गहिरो चोट लागेकोले गर्दा हालसम्म तिनी अचेत अवस्थामा रहेको बताइएको छ। उक्त युवकका साथीहरूले बताएअनुसार जङ्गल देखेर शोभन ट्रेनको दैलो नजिक गएका थिए भने त्यहीँ समय उक्त दुर्घटना भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *