चियाबारीको समस्याबारे डीटीडीपीएलयु र बन्सल कम्पनी अधीनस्थ चियाबारीका प्रबन्धन पक्षमाझ सभा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाका भ्रातृ संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) र बन्सल कम्पनीको अधीनस्थ चियाबारीहरूका प्रबन्धकहरूमाझ विभिन्न विषय लिएर आज सिपाहीधुरा चियाबारीमा सभा सम्पन्न भयो। उक्त सभा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीभित्र पर्ने चियाबारीहरू क्रमैले मालुटार, सिमरिङ, गिताङ्गे, सिविटार, नरबुङ र सिपाहीधुराका प्रबन्धन पक्षसित श्रमिक संगठन डीटीडीपीएलयु-को सभा बस्यो। उक्त सभामा बन्सल कम्पनीको पक्षबाट जेनेरल म्यानेजर कौशिक दास लगायत विभिन्न चियाबारीहरू क्रमैले मालुटारको प्रबन्धक उत्तर राई, सिविटारको मुकुल रहमान, नरबुङको राम शरण चौधरी, सिपाहीधुराको सहायक प्रबन्धक रजत थापा आदि उपस्थित थिए। उक्त सभामा डीटीडीपीएलयु-को पक्षबाट केन्द्रीय सभापति करूणा गुरुङ, केन्दीय सह सचिव राजेश थापा, केन्द्रीय सदस्या मातृका देवान, खरसाङ महकुमा समितिको सचिव सागर गुरुङ, तीनधारे महानदी समष्टिको जोनल सभापति गणु छेत्री, सचिव मनोज प्रधान, नरबुङ युनिटबाट रोशन सुब्बा र विकास गुरुङ, गिताङ्गे युनिटबाट डम्बर कटुवाल, सिपाहीधुरा युनिटबाट रोशन राई लगायत गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, गोजमुमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामा लगायत अन्यहरू उपस्थित थिए। यस सभामा स्टाफ र श्रमिकहरूको वेतन समयमा नै नभएको विषयमा चर्चा गर्दै श्रमिकहरूको वेतन समयमा नै दिनु पर्ने माग गरे। त्यसरी नै गत 27 फरवरीमै दिनु पर्ने श्रमिकहरुको 15 दिनको वेतन आगामी 12 मार्चको दिन दिइने भएको छ भने अब समयमा नै नियमित रुपमा वेतन दिइने पनि प्रतिबध्दता जाहेर गरिएको छ। सभामा स्टाफ र सव स्टाफहरूको पदोन्नति चाँढ़ै गरिने, श्रमिकहरूको घर मरमत्ति गरिने, 2019 मा अवकाश प्राप्त श्रमिकहरूको ग्राजुएटी र पीएफ यसै महिनादेखि प्रदान गरिने, पीएफ र पेन्सन नपाएकाहरूलाई पनि चाँढ़ै प्रदान गरिने, ईएलपीको बढ़ोत्तरी गरिने जस्ता विषयहरूमा चर्चा परिचर्चा गरेर पारित गरिएको छ। त्यसरी नै आधार कार्ड संसोधनको लागि बगानहरूले चाँढ़ै आधार कार्ड संसोधन क्याम्प आयोजना गर्ने भएको छ। आज पारित गरिएको विभिन्न विषयहरूमा कार्यान्वन भएको नभएको विषयमा रिभ्यु मिटिङ आगामी 24 मार्चको दिन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *