चिया श्रमिकहरूको धरना प्रदर्शन जारी, साङ्केतिक भोक हडताल गर्ने श्रमिक सङ्गठनको चेताउनी

दार्जिलिङ: बन्सल कम्पनी अधिनस्थ रहेको 10 वटा चिया बगानको अस्थिरता बिषय लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठनको तर्फबाट गत केही दिनदेखि लगातार रुपमा धरना प्रदर्शन गरिरहेको छ। दिनहुँ धरना प्रदर्शन गरे पनि बन्सल कम्पनीले अहिलेसम्म कुनै पनि कदम नउठाएपछि ती चिया बगानका श्रमिकहरू लगायत भागोप्रमो-को श्रमिक सङ्गठनका प्रतिनिधिहरु रुष्ट देखिन्छन्। आज पनि सदा झै चिया श्रमिकहरूले दार्जीलिङ जिल्ला शासक कार्यालय अघि धरना प्रदर्शन जारी राख्यो। धरना प्रदर्शन अवधि आज श्रमिकहरूको साथमा भागोप्रमो श्रमिक संगठनका अध्यक्ष जेबी तामाङ लगायत जीटीए सभाका भाइस चेयरम्यान तथा स्पीकर अञ्जुल चौहानको पनि उपस्थिति रहेको देखियो।


श्रमिक संगठन अध्यक्ष जेबी तामाङले बताए अनुसार आज जिल्लापालसँग बैठक सफल हुन नसके अथवा उक्त 10 वटा बगानको विषयमाथि कुनै फलप्रद निष्कर्ष आउन नसके भोलीदेखि प्रत्येक चियाबगानको म्यानेजर बङ्गलोमा गएर श्रमिकहरूले आठ घण्टा साङ्केतिक भोक हडताल गर्ने अनि यसले पनि बन्सल कम्पनी अधिनस्थ चियाबगानका श्रमिकहरूको हितमा कुनै निर्णय नआए भागोप्रमो-का शीर्ष नेतृत्वहरुसँग कुराकानी गरेर आमरण भोक हडतलामा बस्ने चेतावनी दिएका छन्। यसैगरी, धरना प्रदर्शनमा उपस्थित जीटीए सभाका उपाध्यक्ष साथै स्पीकर अञ्जुल‌ चौहानले श्रमिकहरुको हितको र अधिकारको निम्ति आफु जीटीए स्पीकरको प्रोटोकल समेत तोडेर श्रमिकहरूको लडाईंमा सहभागिता जनाउन आएको बताए । तिनले जब शोषित, श्रमिक र भोको पेटको कुरा आउँछ, तब आफुले कुनै पनि जाति, धर्म र राजनीतिक रंग नहेर्ने बताए। बन्सल कम्पनी अधिनस्थ रहेको पहाडको 10 वटा चियाबगानका श्रमिकहरुले जबसम्म न्याय पाउँदैनन्, तबसम्म आफु श्रमिकहरुको अधिकारको लडाईमा आफु अग्रिम पङ्क्तिमा उभिएर सङ्घर्ष गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *