चिया श्रमिकहरूको समस्याबारे उत्तरबंग चिया श्रमिक संगठनले उठायो आवाज

सिलगढी : चिया श्रमिकहरूको विभिन्न समस्यालाई लिएर उत्तरबंग चिया श्रमिकले सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर क्षोभ प्रकट गरे। प्राप्त जानकारीअनुसार उचित पारिश्रमिक, जमिनको पट्टाको मागमा उत्तरबंग चिया श्रमिक संगठनको पहलमा पश्चिमबंग खेतमजदुर समिति, डुवर्स तराई महिला वेलफेयर सोसाइटी, डुवर्स युवा संगठनले आन्दोलन शुरू गरेको छ। गत 5 मार्चदेखि कालचिनीबाट तिनीहरूले एउटा पदयात्रा शुरू गरेका थिए भने आज उक्त पदयात्रा सिलगढी आइपुगेको छ। उक्त पदयात्रामा अवधि तिनीहरूले 60 वटा कमानका चियाश्रमिकहरूसित भेट गरेको बताइएको छ। आज सिलगढी आइपुगेपछि एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबंग चिया श्रमिक संगठनका महासचिव शशी सुनार, सभापति क्रिसटियानो खारियाले क्षोभ प्रकट गरे। महासचिव शशी सुनारले बताएअनुसार धेरै वर्ष अघिदेखि विभिन्न चियाकमानमा श्रमिकहरू बसोबासो गर्दै आइरहे तापनि तिनीहरूले जमिनको पट्टा पाएका छैनन्। सरकारी सुविधा समेत तिनीहरूले पाएका छैनन्। केवल मतदान गर्ने मात्र तिनीहरूको अधिकार रहेकोले तिनीहरूले आफूलाई भोट मसिनको संज्ञा दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *