चिया श्रमिकहरूलाई 20 प्रतिशत दरले बोनस दिइनुपर्ने मागलाई लिएर एचपीडब्ल्युयु-द्वारा विभाग तथा मालिकलाई पत्राचार

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक संगठन हिमालयन वर्कर्स प्लान्टेसन लेबर युनियनले यस वर्ष 2020-21 को चिया श्रमिकहरूलाई बोनस 20 प्रतिशतले एकमुष्ठमा पाउनुपर्छ भन्ने माग गर्दै सम्बन्धित विभाग, चियाबारीका मालिक वर्ग, प्रबन्धकगण लगायत सम्बन्धित एकाईहरूमा पत्राचार गरेको संगठनका अध्यक्ष डीके गुरूङले जानकारी दिएका छन्। तिनले पत्रकारहरूलाई दिएको जानकारीअनुसार हाल कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सबैजना भेला भएर केन्द्रीय समितिको बैठक बस्न नसके तापनि टेलिफोन मार्फत् सम्पर्क गरेर सर-सल्लाह गरेअनुसार चिया श्रमिकहरूले 20 प्रतिशतले बोनस पाउनुपर्छ भनेर प्रस्ताव पारित गरेको हो।


कोरोनाको पहिलो लहरमा सरकारद्वारा जारी अध्यादेशलाई पालन गर्दै अन्य व्यवसायहरू बन्द गरिए तापनि चिया श्रमिकहरूले आफ्नो ज्यानको पर्वाह नगरी मालिकहरूलाई मुनाफा दिने कार्य गरे तर श्रमिकहरूले भने न्याय पाएनन्। यसैगरी, यसपाली दोस्रो लहरमा पनि धेरैजसो चियाबारीहरूमा कोरोना संक्रमण बढ्नको साथै धेरैजनाले ज्यान समेत गुमाएका छन्। कुनै पनि सुरक्षा बिनै श्रमिकहरूले आफ्नो ज्यानको पर्वाह नगरी लगातार कार्य गरिरहेको यसपल्ट 20 प्रतिशतको दरले बोनस एकमुष्ठमा पाउनुपर्छ भन्ने आफूहरूको अडान रहेकोले पत्राचार गरिएको कुरा डीके गुरूङले जानकारी दिएका छन्। यसको साथै चियाश्रमिकहरूको पीएफ विषय लिएर आधार लिङ्क गराउनको लागि धेरै असुविधा भइरहेकोले दार्जिलिङका सांसद राजु विष्टलाई आफूहरूले पत्राचार गरेकोले गर्दा नै गत केही दिन अघि तिनले सम्बन्धित विभागसँग सम्पर्क गरेर 3 महिनाको निम्ति आधार लिङ्क गराउन मियाद बढाएको कुरो पनि तिनले पत्रकारहरूलाई जानकारी दिएका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *