चोरी भएको तथा हराएका फोनहरू पुलिसले उद्धार गरेपछि पुलिस कमिश्नरले फर्काइदिए मालिकहरूको हातमा

सिलगढी: सिलगढी मेट्रोपलिटनको 6 वटा थानाको पुलिसले चोरी भएको, हराएको तथा छिनताइ गरेको लगभग 100 वटा मोबाइल उद्धार गरेको छ। यी सबै मोबाइलहरू सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज आ-आफ्नो मालिकहरूलाई फर्काइदिए। सिलगढीको महानन्दा उद्यान पार्कमा आयोजित एउटा कार्यक्रममा चोरी भएको तथा हराएका मोबाइलहरू तिनीहरूको मालिकको हातमा सुम्पिदिए। स्मरण रहोस, प्राय: प्रत्येक दिनजसो सिलगढी मेट्रोपलिटनको प्रधान नगर, मतिगढा, बाघडुग्रा, एनजेपी, भक्ति नगर र सिलगढी थानामा मोबाइल चोरी भएको, हराएको तथा छिनताइ गरेकोबारे अभियोग दर्ता भइरहेको थियो। यी थाना क्षेत्रहरूबाट चोरी भएको, हराएको तथा छिनताइ गरेको 100 वटा मोबाइल पुलिसले उद्धार गरेर आज तिनीहरूको मालिकलाई फर्काइदिए। यस अवसरमा पुलिस कमिश्नर गौरव शर्माले भने, दिनहुँ जसो पुलिस थानाहरूमा मोबाइलसित सम्बन्धित प्राथमिकी दर्ता भइरहेकोले गर्दा मनिटरिङ सेलले ट्र्याकिङ गरेर यी फोनहरूको लोकेसन खोजी निकाले पछि मेट्रोपलिटनको 6 वटा थानाको पुलिसले अभियान चलाएर मोबाइल उद्धार गर्न सफल भएको हो। यसमा मतिगढा, एनजेपी र सिलगढी थानाले सबैभन्दा अधिक चोरी भएको मोबाइल फोन उद्धार गर्न सफल भएको तिनले बताए। तिनले सिलगढीका शहरवासीहरूलाई आश्वस्त पार्दै आपराधिक गतिविधि रोक्न तथा मानिसहरूको सहयोगको लागि पुलिसले आफ्नो सय प्रतिशत योगदान दिनेछ भनी बताए। अर्कोतिर, हराएको मोबाइल पाएपछि मानिसहरूको मुहारमा खुसी देखिनको साथै तिनीहरूले पुलिसको यस पहलको सराहना गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *