चुनाउमा जितेको खण्डमा तीनधारे क्षेत्रमा विकासमूलक कार्यहरू गर्ने प्रार्थी नर्बुजी लामाले गरे वाचा

खरसाङ: बिमलपन्थी गोजमुमोको खरसाङ विधानसभा समष्टिको प्रार्थी नर्बुजी लामाले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा चुनावी भ्रमण गरे। तिनले आज बिहान यस समष्टिको महानदीस्थित तिरसठ पाखाबाट आफ्नो चुनावी भ्रमणलाई शुरू गरेर महानदी हुँदै घुम्ती कमान, सिविटार चियाबारी, तीनधारे चियाबारी, तीनधारे क्षेत्र र घैयाबारीतिर चुनावी भ्रमण गरे। तिनलाई महानदी, घुम्ती, सिविटार चियाबारीतिर आफ्ना पार्टी समर्थकहरूले स्वागत जनाए। गोजमुमो बिमलपन्थीका खरसाङ विधानसभा समष्टिका प्रार्थी नर्बुजी लामाले तीनधारे चियाबारीको कारखाना परिसरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जीटीएको चौकीमा बस्नेहरूले चिया बगानका लागि केही काम नगरेको आरोप लगाउँदै हामी चौकीमा हुँदा बगानको लागि काम गरेको र प्रत्येक ग्रेडका बगानहरूमा सधैँ बीस प्रतिशत बोनसको व्यवस्था गरेका थियौं भनी बताए। तिनले यसपाली आफूले जितेर गएको खण्डमा सर्वप्रथम बगानको लागि कार्य गर्नेछु भनी प्रण गरे।


तिनले आफ्नो सम्बोधनमा पहाड़मा पञ्चायत व्यवस्था लागु गरिनुपर्ने साथै यहाँ त्रिस्तरीय पञ्चायत चुनाउ गरिनु आवश्यक छ भनी बताए। उक्त पथ सभालाई डीटीडीपीएलयु-का केन्द्रीय अध्यक्ष सुरज सुब्बा, युवा मोर्चाका युकास प्रधानले पनि सम्बोधन गरे। तीनधारे चियाबारीपछि तिनी तीनधारे क्षेत्रको भ्रमणमा गएका थिए। तिनको उपस्थितिमा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा बिमलपन्थी गोजमुमोको चुनावी पथ सभा सम्पन्न भयो। यसावधि प्रार्थी नर्बुजी लामाले तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी अनि आदि कवि भानुभक्तको सालिगमा पनि श्रद्धाञ्जलि अर्पण गरे। यहाँको चुनावी पथ सभालाई सम्बोधन गर्दै प्रार्थी नर्बुजी लामाले 17 अप्रेलको दिन हुने चुनाउ हाम्रो लागि चुनाउ नभएर चुनौती रहेको बताए। तिनले भने, तीनधारेको जनताले यसपाली आफ्नो बहुमूल्य भोट दिएर जाति, माटो र अस्तित्वको लागि साथै झुकेको शिर उच्च पार्नु हुनेछ भन्ने आशा राखेको छु। तिनले तीनधारे ऐतिहासिक स्थान हो भन्दै तीनधारेका जनताले माग गरे अनुसार चुनाउ जितेपछि तीनधारेमा डिग्री कलेजको निर्माण, अग्निशमन केन्द्रको निर्माण, पानीको समस्या समाधान, प्राथमिक शिक्षाको लागि सर्कल कार्यालय स्थापनाको लागि कार्य गर्ने वाचा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *