चुनाउ प्रचारको अन्तिम दिन अशोक भट्टाचार्यले जोड़तोड़ले गरे प्रचार

सिलगढी : लोकतन्त्रको सबैभन्दा ठुलो तथा महत्वपूर्ण उत्सवको रूपमा मानिने चुनाउको मिति अब धेर दिन छैन। यसैले विभिन्न राजनैतिक दलका प्रार्थीहरू लगायत नेता तथा समर्थकहरू आफ्नो दलका उम्मेद्वारलाई विजय गराउनको लागि दिनरात खटेर चुनाउ प्रचारमा लागिपरेको देखिन्छ। यसै क्रममा आगामी 17 अप्रेलको दिन हुने विधानसभा चुनाउको प्रचार गर्ने आज अन्तिम दिनमा पनि सबैजसो पार्टीका प्रार्थीहरूले विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गरेको देखियो। यसै क्रममा सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यले आज बिहानैदेखि सिलगढीको विवेकानन्द रोड इलाका तथा रेड लाइट इलाकामा चुनाउ प्रचार गर्दै आफ्नो पक्षमा मतदान गरेर विजय गराउने सबैसित अपील गरे। यस अवधि तिनीसित नगरनिगम 7 नम्बर वार्डका को-अर्डिनेटर पिन्टु घोष लगायत अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। अशोक भट्टाचार्यले बताएअनुसार गतपल्टको विधानसभा चुनाउको तुलनामा यसपल्ट मतदाताहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेकोले सय प्रतिशत जित्ने कुरामा तिनी आशावादी छन्। तिनले अझ भने, गत 25 वर्षदेखि मैले विधायकको रूपमा सिलगढी सहरको विकास गरिरहेको छु। यस अवधि मैले मानिसहरूलाई धोका नदिएर तिनीहरूको आवश्यकता पुरा गरेको छु। तिनले शीतलकुचीको घटनापछि सिलगढीमा पनि केही मानिसहरू भयभीत रहेको बताएका छन्। तथापि, सिलगढी एउटा भिन्नै सहर हो। सिलगढीमा कुनै प्रकारको राजनीतिक संघर्ष नभएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *