कांग्रेस-वामफ्रन्ट-द्वारा चुनाउ चाँडै गराउनुपर्ने मागमा महकुमाशासकलाई ज्ञापन

सिलगढी : पराजित हुने डरले तृणमूल कांग्रेसले नगरनिगम, नगरपालिका र महकुमा परिषदको चुनाउ गर्न नचाहेको वामफ्रन्ट र कांग्रेसले आरोप लगाएको छ। सिलगढी लगायत राज्यको मियाद समाप्त भएको सबै नगरनिगम, नगरपालिका र महकुमा परिषद्को चुनाउ चाँडै गरिनुपर्ने मागलाई लिएर आज कांग्रेस-वामफ्रन्टले संयुक्त रूपमा चुनाउ अधिकारी तथा महकुमा शासक प्रियदर्शनी एसकेसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार आउँदो विधानसभा, नगरपालिका र महकुमा परिषद्को चुनाउ कांग्रेस र वामफ्रन्टले गठबन्धन गरेर लड्ने निर्णय लिएको बताइएको छ। यसैले दुई दलका नेता अशोक भट्टाचार्य र शङ्कर मालाकारले आज विधानसभा चुनाउ लगायत अन्य चुनाउहरू चाँडै गरिनुपर्ने माग गर्दै चुनाउ अधिकारी तथा महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


यसको साथै आउँदो जनवरी महिनामा दुवै दलले संयुक्त रूपमा सिलगढीमा एउटा विराट जनसभाको आयोजना गर्ने भएको छ। अर्कोतिर, यसको जवाबमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभापति रञ्जन सरकारले कांग्रेस अनि वामफ्रन्टको राज्यमा मात्र नभएर देशको कुनै ठाउँमा अस्तित्व नरहेको बताए। आगामी विधानसभा चुनाउमा अब यी दुवै दलका नेताहरूको जमानत जफत हुनको साथै अब साइनबोर्ड मात्र बन्ने छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *