कङ्ग्रेस बुथ सभापतिको झुन्डिएको अवस्थामा शव उद्धार

रायगञ्ज : कङ्ग्रेस बुथ सभापतिको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। उक्त घटना रायगञ्ज थानाको गौरी ग्राम पञ्चायत अन्तर्गत पर्ने दक्षिण विष्णुपुर गाउँमा घटेको हो। मृतक व्यक्ति देवेश बर्मन (50) गौरी ग्राम पञ्चायतको राष्ट्रिय कङ्ग्रेसको बुथ सभापति थिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार देवेश बर्मन दिनहुँ झैँ हिजो साँझ चिया पिउनको लागि घरबाट बाहिर निस्केका थिए। अबेर रातिसम्म तिनी घर फर्किनआएपछि परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहान इलाकाका मानिसहरूले घरदेखि केही टाढा एउटा रुखमा झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि रायगञ्ज थाना पुलिसलाई घटनाबारे जानकारी दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको रायगञ्ज सरकारी मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। तिनले आत्महत्या गरेको हो अथवा कसैले हत्या गरेको हो भन्ने बारेमा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *