कुचबिहारमा पञ्चायत सदस्या लगायत तिनको लोग्ने र छोरीको हत्या, उत्तेजनाको माहौल

कुचबिहार : कुचबिहार शीतलकुची ब्लकको अस्पतालपाडा इलाकामा स्थानीय पञ्चायत सदस्या, तिनको लोग्ने र छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ। यसको साथै अर्की छोरी घाइते भएकोले हाल कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा तिनको उपचार चलिरहेको छ। उक्त घटनापछि इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको छ। उक्त घटनामा पुलिसले 3 जनालाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान केही दुष्कृतिहरू स्थानीय पञ्चायत सदस्या नीलिमा बर्मनको घरमा आएर धारिलो हतियारले प्रहार गर्दा पञ्चायत सदस्या लगायत 4 जना घाइते भएका थिए। तिनीहरू चिच्याएको आवाज सुनेर छिमेकीहरू घटनास्थलमा आइपुगेर गम्भीर घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पतालमा लगे तापनि पञ्चायत सदस्या नीलिमा बर्मन र तिनको लोग्ने बिमल बर्मनको मृत्यु भएको बताइएको छ। यसपछि आशंकाजनक अवस्थामा दुईजना छोरीलाई कुचबिहार एमजेएन मेडिकलमा रेफर गरिदिए तापनि त्यहाँका चिकित्सकहरूले छोरी रुनु बर्मनलाई मृत घोषित गरिदिए भने अर्की छोरी ईती बर्मन हाल उपचाराधीन अवस्थामा छन्। घटनाको खबर पाएर शीतलकुची थानाको विशाल पुलिस वाहिनी एवम् माथाभाङ्गा महकुमाका एडिसनल एसपी अमित बर्मा घटनास्थलमा पुगेका थिए।  पुलिस सूत्रले दिएको जानकारी अनुसार एकजना आरोपी विभूतिभूषण बर्मनसित पञ्चायत सदस्याको सानो छोरीको प्रेम सम्बन्ध रहेको थियो। यहीँ कारणले गर्दा नै उक्त घटना भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। अर्कोतिर, घटनापछि स्थानीय मानिसहरूले 3 जनालाई पक्राउ गरे। यसपछि तीमध्ये विभूतिभूषणलाई स्थानीय मानिसहरूले सामूहिक कुटपीट गर्दा घाइते भएकोले पुलिसले तिनलाई उद्धार गरेर एमजेएन मेडिकलमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *