कोरोनाबारे नागरी फार्मको अप्पर चाउर गाउँमा महत्वपूर्ण सभा

सुकेपोखरी : कोभिड-19 को दोस्रो लहरको बढ़्दो संक्रमणलाई रोकथाम गर्नको निम्ति नागरी फार्मको अप्पर चाउर गाउँ ग्राम कल्याण समाज कार्यकारी समितिको सभा रोहित गिरीको अध्यक्षतामा सम्पन्न भयो। सभामा व्यापक चर्चा-परिचर्चा पछि अबउसो बाहिरका मानिसहरूलाई गाउँमा प्रवेश गर्न नदिइने प्रस्ताव पारित गरियो । यसका साथै सबैलाई अनिवार्य रूपमा मास्क प्रयोग गरिदिने अनि सामाजिक दुरी पालन गरिदिने अपील गरियो । यसको साथै अनावश्यक काम लिएर कसैलाई बाहिर ननिस्किदिने अनुरोध गर्दै विशेष युवा-युवतीहरू आफ्नो दुइचक्के वाहन लिएर यत्रतत्र घुम्ने गरेको घटनालाई केन्द्र गरेर परिवारका अविभावकहरूलाई यसबारे आफ्ना नानीहरूलाई सम्झाइदिने अनुरोध गरिएको समितिले बताएको छ । नागरी फार्मको सबै 17 वटा समाजका पदाधिकारीहरूलाई पनि यसबारे उचित पहल गरिदिने सुझाउ राख्दै कोभिड-19 लाई लिएर कतिपय अफवाह फैलिरहेकोले यस्ता अफवाहमा विश्वास नगरिदिने पनि आग्रह गरिएको बताइएको छ । समाज भवनमा सम्पन्न सभामा सचिव ईश्वर राई, उपसभापति प्रमोद राई, सहसचिव दीपिका छेत्री,कोषाध्यक्ष मञ्जु छेत्री, दिपेन गिरी आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *