कोरोनाको प्रभाव : स्वतन्त्रता दिवसमा राष्ट्रिय झण्डा किन्नेहरूको संख्या न्यून

सिलगढी : देशको स्वतन्त्रता दिवस प्रत्येक वर्ष 15 अगस्तको दिन बडो हर्षोल्लासको साथमा मनाइने गरे तापनि यस वर्ष कोरोना महामारीले गर्दा यसको हर्षोल्लासमा केही फिकापन देखापरेको छ। स्वतन्त्रता दिवस अघि सिलगढी सहरको दोकानहरूमा विभिन्न प्रकारको राष्ट्रिय ध्वज बिक्रीमा राखिन्थ्यो भने तिरंगा झण्डा किन्ने मानिसहरूको बजारमा निक्कै भीड देखिन्थ्यो। तर यस वर्ष सिलगढीमा यस प्रकारको कुनै रौनकता देखापरेको छैन। स्वतन्त्रता दिवसको लागि बजारमा केही बिक्रीमा राखिएको राष्ट्रिय झण्डा किन्ने ग्राहकहरू शून्य रहेको दोकानेहरू बताउँछन्। सिलगढी सहरको हिलकर्ट रोड, विधान रोड, सेभोक रोड लगायत विभिन्न दोकानहरूमा ठुला-साना विभिन्न प्रकारका तिरंगा झण्डा बिक्रीमा राखे तापनि झण्डा किन्ने मानिसहरूको संख्या निक्कै कम्ती रहेको छ। एकजना दोकानेले बताएअनुसार कोरोना महामारीको कारण स्कुल, कलेज बन्द रहेको साथै मानिसहरू संक्रमणको डरले घरबाट बाहिर निस्कन डराइरहेकोले गर्दा राष्ट्रिय पर्वको अवसरमा पनि बजारमा ग्राहकहरू एकदमै कम्ती आइरहेका छन्। स्मरण रहोस्, प्रत्येक वर्ष 15 अगस्त मनाउनको लागि मानिसहरूले अगावै विभिन्न प्रकारको समानहरूसहित तिरंगा झण्डा बजारबाट किनेर लाने गर्थे तर यस वर्ष कोरोनाको कारण सिलगढीको बजारमा भिन्नै दृश्य देखापरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *