कोरोनाले गर्दा धेरै समयपछि आजदेखि खोलियो राजगञ्जको नवदिशा पाठशाला

सिलगढी : कोरोनाले गर्दा धेरै समय अघिदेखि बन्द रहेपछि आजदेखि फेरि नयाँ रूपमा मिलनपल्लीको पुलिस आउटपोस्टमा रहेको नवदिशा पाठशाला खोलिएको छ। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले आज उक्त स्कुलको उद्घाटन गर्नको साथै स्कुलका विद्यार्थीहरूलाई स्कुल ड्रेस, जुत्ता, ब्याग र खाता-कलम प्रदान गरे। यस अवसरमा एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, एसीपी राजेन छेत्री, एनजेपी थाना तथा मिलनपल्ली आउटपोस्टका पुलिस कर्मीहरू उपस्थित थिए। राजगञ्जको मिलनपल्ली पुलिस आउटपोस्टमा 2013 देखि स्कुल शुरू गरिएको थियो। मन्तादारी ग्राम पञ्चायतको गजलडोबा नजिक टिस्टा नदीको तटमा नानीहरूको लागि स्कुल खोलिएको थियो भने उक्त स्कुलमा पुलिस कर्मीहरूले स्वयम् शिक्षकको रूपमा नानीहरूलाई पढाउँदै आइरहेका छन्। उक्त स्कुलमा विद्यार्थीहरूबाट कुनै फी लिइँदैन। यसबाहेक पुलिसद्वारा विद्यार्थीहरूलाई निःशुल्क पठन-पाठनको सामग्रीहरू प्रदान गरिने गर्छ। तर उक्त स्कुल कोरोनाले गर्दा लगभग ढाई वर्षदेखि बन्द रहेको थियो। उक्त स्कुललाई नयाँ प्रकारले शुरू गर्ने उद्देश्यले पुलिस आउटपोस्टको एउटा कोठालाई नयाँ रूपमा सजाएर आजदेखि पुनः स्कुल शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *