कोरोना महामारीमा खट्ने स्वास्थ्य कर्मीहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी :  कोरोना संक्रमणलाई रोकथाम गर्नमा अग्र पङ्क्तिमा खटिरहेका सिलगढी नगरनिगम इलाकामा कार्यरत स्वास्थ्य कर्मीहरूले कन्टेन्टमेन्ट जोनदेखि लिएर कोरोना संक्रमितहरूको घरमा समेत सर्वेक्षण गर्दै आइरहेका छन्। उक्त स्वास्थ्य कर्मीहरूले हालसम्म जुलाई महिनाको वेतन नपाएकोले गर्दा बाध्य भएर धेरैजना स्वास्थ्य कर्मीहरूले आज विरोध प्रदर्शनी गरे। दार्जिलिङ जिल्ला स्वास्थ्य कर्मी युनियनका सदस्यहरूले बकाया वेतन लगायत विविध मागहरूलाई लिएर सिलगढी नगरनिगम कार्यालयअघि विरोध प्रदर्शनी गर्दै आगामी 7 दिनभित्रमा बकाया वेतन नदिए कार्य बन्द गर्ने तिनीहरूले चेताउनी दिएका छन्। यस अवसरमा संगठनका सचिव शेफाली भट्टाचार्यले कोरोना महामारीको समयमा आफूहरूले घर-घर गएर सर्वे गरे तापनि 3 हजार 1 सय 25 रुपियाँ मासिक वेतन समेत हालसम्म नदिएको बताइन्। यसैले उक्त बकाया वेतन चाँडै भुक्तान नगरे कार्य बन्द गरेर आन्दोलन गर्ने तिनले चेताउनी दिएकी छन्। यस विषयमा तृणमूल सभापति रञ्जन सरकारले आफू स्वास्थ्यकर्मीहरूको साथ रहेको बताउँदै नगरनिगममा वेतनको रुपियाँ आए तापनि यसको भुक्तान नगरेर नगरनिगमले आर्थिक संकट सृष्टि गरिरहेको आरोप लगाएका छन्। यसको साथै सिलगढी नगरनिगमको प्रशासक मण्डलीले सटीक कार्य गर्न नसकेको पनि तिनले बताए। अर्कोतिर, प्रशासक मण्डलीका सदस्य शङ्कर घोषले वास्तविक कुरा नबुझी प्रशासक मण्डलीबारे तृणमूल नेता रञ्जन सरकारले गलत मन्तव्य प्रकट गरेको बताए। स्वास्थ्य कर्मीहरूले पाउने बकाया राशिबारे सम्बन्धित उच्च अधिकारीहरूसित लगातार सम्पर्क गरिरहेको साथै स्वास्थ्य कर्मीहरूले उठाएको माग सही रहेको पनि घोषले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *