कोरोना परिस्थितिलाई लिएर एलबी राईले गरे महत्वपूर्ण बैठक

मिरिक : कोरोनाको बढ्दो परिस्थितिलाई लिएर आज मिरिकमा एउटा महत्वपूर्ण बैठक गरियो। नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमा शासक जमिल फतिमा जेबा, स्वास्थ्य विभाग लगायत अन्य संघ संस्थाहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा कोरोनाको संक्रमणलाई रोकथाम गर्न के-कस्तो पहल गरिनुपर्ने भन्नेबारे चर्चा-परिचर्चा गरियो। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै नगर अध्यक्ष एलबी राईले भने, आजको बैठकमा कोभिड 19-को दोस्रो लहरदेखि मिरिकलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा छलफल भयो। यसको साथै महकुमा शासकको तर्फबाट पनि कतिपय गाइड लाइन पाएका छौँ, जसको आधारमा हामी काम गर्नेछौँ भनी तिनले बताए। कोरोनाको पहिलो लहरमा पनि मिरिकलाई बचाउन धेरै कार्यहरू गरेका थियौँ भने यसपल्ट पनि मिरिक नगरपालिकाले कोरोनादेखि स्थानीय मानिसहरूलाई बचाउनको लागि युद्धस्तरमा कार्य गर्ने राईले बताए। भोलिदेखि नगरपालिकाका कर्मचारीहरू कार्यालयमा नआएर सबैले फिल्डमा कार्य गर्नेछ भने विशेष गरेर बाहिरबाट आउने वाहनहरूको जाँच गर्ने तिनले बताए। यसबाहेक पर्यटकहरूको निम्ति पनि भोलिदेखि मिरिक गार्डन बन्द रहने घोषणा गर्दै तिनले अब चाँडै नै मिरिक बजारमा सेनिटाइज गरिने बताए। यसको साथै गाउँ बस्तीका रोगीहरूलाई पनि सहयोग गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *