कोरोना संक्रमण बढ्दैछ सिलगढीमा, सतर्कता नअप्नाए विकराल रूप लिइने सम्भावना

सिलगढी : सिलगढीमा कोरोना भाइरसको संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ। बितेको केही दिन यतादेखि सिलगढीमा रेकर्ड संख्यामा मानिसहरू फेरि कोरोनाले संक्रमित भइरहे तापनि यहाँका मानिसहरूमा स्वास्थ्यलाई लिएर सतर्कता भने त्यति देखिएको छैन। विशेष गरेर सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी निर्देशहरूको मानिसहरूले पालन गरेका छैनन्। सिलगढीको कुरा गर्नुपर्दा यहाँका मानिसहरूले सामाजिक दूरीको पालन नगरेको साथै धेरैजसो मानिसहरू माक्स नलगाई जताततै हिँडिरहेको देखिन्छन्। हिजो बिहिबार दार्जिलिङ जिल्लामा 111 जना मानिसहरू कोरोनाले संक्रमित भएका थिए भने तीमध्ये 49 जना सिलगढी नगरनिगम अन्तर्गत पर्ने दार्जिलिङ जिल्लाका वासिन्दा हुन्। यसबाहेक दार्जिलिङ नगरपालिका क्षेत्रमा तीनजना, सुकुनामा एकजना, मतिगढा ब्लकमा 25 जना, खोरीबारी ब्लकमा 1 जना, नक्सलबारी ब्लकमा 14 जना अनि फाँसीदेवा ब्लकमा 18 जना कोरोना भाइरसले संक्रमण भएको पुष्टि भइसक्दा पनि अझसम्म मानिसहरूले यसलाई लिएर सतर्कता नअप्नाइएको देखिन्छ। विशेष गरेर विधानसभा चुनाउलाई लिएर गरिएको ठुल्ठुला जनसभा, र्‍याली, स्ट्रीट मीटिङ लगायत विभिन्न महोत्सवहरूमा पनि खुल्ला रूपमा मानिसहरूले सामाजिक दूरीको पालन नगरेको साथै अधिकजसो मानिसहरूले माक्स नलगाएकोले पनि कोरोना संक्रमण अदृश्य रूपमा बढिरहेको जानकारहरू बताउँछन्। यति मात्र नभएर कोरोना भाइरसले संक्रमित भएर मुर्शिदावाद शमशेरगञ्ज विधानसभा केन्द्रबाट कङ्ग्रेसका उम्मेद्वार रेजाउल हक उर्फ मिन्टु विश्वासको मृत्यु भइसकेको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर सिलगढीका सबैजना मानिसहरूले सरकारद्वारा निर्देशित कोरोना संक्रमणलाई लिएर सतर्कता अप्नाउनु धेरै आवश्यक देखिन्छ नत्र यसले आउँदो दुई-चार दिनमा अझ झन् विकराल रूप धारण गर्ने कुरा लगभग निश्चित छ। अर्कोतिर, बङ्गालभरिमै पनि लगातार बढ्दो कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ आयोगलाई मोठ 8 चरणमा हुने बङ्गाल विधानसभाको अब रहल सबै चरणको मतादान एकै दिनमा गराउने अपील समेत गरिसकेकी छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *