कोरोना भ्याक्सिन सम्बन्धी जानकारी लिन भाजपाका विधायकहरूको महकुमा शासकसित भेट

सिलगढी : भाजपाका तीनजना विधायक शङ्कर घोष, आनन्दमय बर्मन र शिखा च्याटर्जीले आज सिलगढीको महकुमाशासक प्रियदर्शिनी एससित भेट गरे। यस अवधि तिनीहरूले सिलगढी महकुमाको कुन-कुन ठाउँमा अनि कसरी कोरोनाको भ्याक्सिन लगाइँदैछ भन्ने विषयमा चर्चा परिचर्चा गरे। यसबाहेक सिलगढी नगरनिगम अन्तर्गत जलपाईगढी जिल्लाको 13 वटा वार्डहरूमा कोरोनाको टीकाकरणलाई लिएर उठाइएको पहल बारेमा चर्चा परिचर्चा गरियो। विधायक शंकर घोषले विभिन्न ठाउँहरूमा कोरोनाको भ्याक्सिनलाई लिएर विविध आरोपहरू आइरहेको छ भने यी सबै आरोप वाञ्छनीय नरहेको बताउँदै यसबारे महकुमा शासकलाई जानकारी दिए। यसको साथै तिनले यी मुद्दाहरूमाथि विचार गर्ने अनुरोध पनि गरे। सहरको विभिन्न स्वयंसेवी संगठनका सदस्यहरू लगायत विशेष आवश्यक रहेको मानिसहरूलाई चाँडोभन्दा चाँडो कोरोनाको खोप लगाउनुपर्ने महकुमा शासकसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *