सीपीएम-का 2 नेताको जमानत अर्जी फेरि अदालतले गर्‍यो खारेज

सिलगढी : सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा पक्रा परेका 2 जना सीपीएम नेताको जमानतको आवेदन अदालतले खारेज गरेको छ। ती दुई नेता आगामी 9 सेप्टेम्बरसम्म जेल हिरासतमा राख्ने अदालतले निर्देश दिएको छ। स्मरण रहोस्, विविध मागलाई लिएर गत शुक्रबार वामफ्रन्टले सिलगढी नगरनिगम अभियान चलाएका थिए। उक्त अभियान अवधि वामका 25 जना नेता तथा कार्यकर्ताविरुद्ध पुलिसको ब्यारिकेट भत्काएको लगायत विविध आरोपहरू लगाउँदै सिलगढी थाना पुलिसले मामिला दर्ता गरेको थियो। यसपछि गत शनिबार प्रमोद पासवान र प्रदीप घोषलाई पुलिसले पक्राउ गरेर अदालतमा पेश गर्यो। पक्रा परेका दुईजना नेता विरुद्ध विविध धाराहरू लगायत गैर जमानती मामिला सामेल छ। शनिबार अदालतले जमानतको आवेदन खारेज गरेर मङ्गलबारसम्म जेल हिरासतमा राख्ने निर्देश दिएको थियो भने आज फेरि ती 2 सीपीएम नेतालाई अदालतमा पेश गरियो। आज पनि अदालतले तिनीहरूको जमानत खारेज गरेर 9 तारिखसम्म जेलमा राख्ने आदेश दिएको छ। यस सम्बन्धमा जीवेश सरकारले भने, माकपा नेताहरूविरुद्ध जानीजानी मामला दर्ता गरिएको छ। यस प्रकारले आफूहरूको आन्दोलनलाई रोक्न सक्दैन। आफूहरूलाई कानुनमा भरोसा रहेकोले कानुनी लड़ाई जारी रहनेछ। अर्कोतिर, नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले भने, लोकतान्त्रिक देश तथा राज्यमा सबैलाई विरोध गर्ने अधिकार छ। हामीले कसैको नाममा अभियोग गरेका छैनौँ। तिनीहरूले योजना बनाएर अशान्ति फैलाउन आएकोले आफूहरूले यसको विरोध गरेका थियौँ। आफूहरूले कहिले पनि यस प्रकारले तोडफोड गरेर विरोध प्रदर्शन गरेका छैनौँ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *