करोड रूपियाँको हात्तीको दाँतसहित युवक पक्राउ

सिलगढ़ी: डीआरआई-ले एनजेपी रेलवे स्टेशनको एक नम्बर प्लेटफार्ममा अभियान चलाएर गान्धीधाम एक्सप्रेस ट्रेनबाट बुधबार बेलुकी हात्तीको दाँतसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति अजीम अहमद कोकराझार, असम निवासी रहेको बताइएको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गुवाहाटी गान्धीधाम एक्सप्रेस ट्रेनको एसी सेकेण्ड टायरमा यात्रा गरिरहेका अजीम अहमदको दुईवटा ब्यागको तलासी लिइँदा त्यसभित्र 7 टुक्रा हात्तीको दाँत डीआरआई-ले उद्धार गरेको हो। तिनले तस्करी गर्ने उद्देश्य लिएर उक्त हात्तीका दाँतहरू लगिरहेका थिए। पक्रा परेको उक्त दाँतको मूल्य लगभग 1 करोड़ 30 लाख रूपियाँ रहेको बताइएको छ। पक्रा पर्ने आरोपी अजीम अहमदलाई आज डीआरआईले सिलगढ़ी एसीजेएम अदालतमा पेश गरेपछि न्यायाधीशले 14 दिनको जेल हिरासतमा राख्ने निर्देश दिएको छ। डीआरआईले घटनाको छानबीन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *