करोडौँ रुपियाँको हेरोइन बनाउने क्रूड सहित 1 जना पक्राउ

सिलगढी (निसं): एसटीएफले करोडौँ रुपियाँको हेरोइन बनाउने काँचो माल (क्रूड) जफत गर्नको साथै 1 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम सुजीत विश्वास (26) बताइएको छ। तिनी नदिया जिल्लाको ताहिरपुर निवासी हुन्। गोप्य सूचनाको आधारमा एसटीएफको टीमले हिजो साँझ फुलबारीमा असमबाट आइरहेको एउटा बसलाई रोकेर सुजीत विश्वास नाम गरेका एकजना युवकलाई सन्देहको आधारमा छानबीन गर्दा एउटा ब्यागबाट हेरोइन बनाउने काँचो माल (क्रूड ब्ल्याक कलर हेरोइन) उद्धार गरेको बताइएको छ। यसपछि सुजीत विश्वाससित सोधखोज गर्दा तिनी क्रूड लिनको लागि नदियाबाट प्लेनमार्फत् असमको तिनसुकिया गएर हेरोइन बनाउने क्रूड लिएर फेरि असमबाट सिलगढीको बसमा सवार भएर नदिया जानको लागि निस्केका थिए। एसटीएफ सूत्रले दिएको जानकारी अनुसार आरोपी सुजीत विश्वासबाट मोठ 4 किलो 769 ग्राम हेरोइन बनाउने क्रूड उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य लगभग 2 करोड रुपियाँ तोकेको छ। सुजीत विश्वास कोरियरको रूपमा काम गर्दछन्। यस नेटवर्कमा अन्य व्यक्तिहरू पनि सामेल छन्। एसटीएफले पक्रा परेका आरोपीविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *