डाबग्राम-फुलबारी विधानसभा केन्द्रलाई नगरपालिका बनाउने आवेदन लिएर कोलकाता जाने मन्त्री गौतम देव

राजगञ्ज : राज्यका पर्यटन मन्त्री गौतम देवले डाबग्राम-फुलबारी विधानसभा केन्द्रलाई नगरपालिका बनाउने आवेदन लिएर कोलकाता जाने भएका छन्। आज फुलबारी 2 ग्राम पञ्चायतको लकडाउन मोडमा तृणमूलको एउटा जनसभालाई सम्बोधन गर्दै फुलबारी-डाबग्रामका विधायक तथा राज्यका पर्यटन मन्त्री गौतम देवले आगामी 3 जनवरीमा कोलकाता गएर मुख्यमन्त्री ममता ब्यानर्जीलाई आवेदन गर्ने बताए। तिनले अझ भने, जलपाईगढी जिल्लाको राजगञ्ज ब्लकको डाबग्राम-फुलबारी विधानसभा केन्द्रलाई नगरपालिका बनाउने दीर्घदिनदेखि माग रहेको बताए। उक्त इलाकाको विकासको लागि मुख्यमन्त्रीसित माग गरेपछि सबै मागहरू पुरा भएको बताउँदै तिनको यो आवेदन पनि मुख्यमन्त्री स्वीकार गर्ने तिनले आशा साँचेका छन्। डाबग्राम-फुलबारी विधानसभा केन्द्र भौगोलिक अवस्थानको कारण सिलगढी सहरको परिपूरक हो। सिलगढी सहरलाई चारैतिरबाट डाबग्राम-फुलबारी विधानसभा केन्द्रले घेरेको छ भने उक्त विधानसभा केन्द्रमा सिलगढी नगरनिगमको 14 वटा वार्ड पर्दछ। फुलबारी-डाबग्राम पञ्चायत इलाका रहे तापनि यहाँ राज्यको शाखा सचिवालय-उत्तरकन्या, केही प्रशासनिक भवन, रेलवे स्टेशन, दुईवटा थाना, सशत्र पुलिस ब्यारेक, दुईवटा दमकल केन्द्र, वैद्युतिक चुल्हा, विदेशी व्यापारको लागि भूमि बन्दरगाह, ईएसआई अस्पताल, धेरैवटा कारखाना एवम् औद्योगिक केन्द्र रहेको छ। उक्त जनसभामा तृणमूलको अल्पसंख्यक सेलका प्रदेश सभापति हाजी नुरूल इस्लाम, राजगञ्जका विधायक खगेश्वर राय, धुपगढीका विधायक मिताली राय, युवा तृणमूलको जलपाईगढी जिल्ला सभापति सैकत चट्टोपाध्याय, डाबग्राम-फुलबारी विधानसभा केन्द्रका तृणमूल ब्लक सभापति देवाशीष प्रमाणिक मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *