डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेसद्वारा मेगा र्‍यालीको आयोजना

सिलगढी : नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धि, धार्मिक विभाजन लगायत विविध विषयलाई लिएर आज डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले भैँसी गाडी लिएर मेगा र्‍यालीको आयोजना गरे। डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले सर्वप्रथम दिवङ्गत पञ्चायत मन्त्री सुब्रत मुखर्जीको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धा सुमन अर्पण गरे। यसपछि आसिघर जयकान्त स्कुलबाट एउटा र्‍याली निकालेर विभिन्न ठाउँहरूको परिक्रमा गरेर भवेश पेट्रोल पम्प अघि पुगेपछि समापन गरियो। डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेस सभापति सागर महन्तले बताएअनुसार नित्य प्रयोजनीय समानहरूको मूल्य वृद्धि लगायत अन्य विविध विषयलाई लिएर आज र्‍यालीको आयोजना गरिएको थियो। आगामी 30 नोभेम्बरदेखि केन्द्र सरकारले निःशुल्क राशन व्यवस्था बन्द गर्ने भएकोले यसको प्रतिवाद जनाउँदै आज र्‍याली निकालिइएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *