दहेज नपाएपछि विवाहको ठीक अघि चम्पट कसे बेहुलाले, थानामा अभियोग दर्ता

सिलगढी: दहेज विरोधी कानून अनि सामाजिक जागरूकता अभियान पछि पनि देशमा दहेजका लोभीहरूको संख्या हालसम्म पनि कम भएको देखिँदैन। यस्तै एउटा घटना सिलगढीमा पनि प्रकाशमा आएको छ। दहेज नपाएपछि विवाहको मण्डपमा बेहुला आउन मानेनन्। विवाह अगावै दहेजको लोभी बेहुलाले चम्पट कसे। प्राप्त जानकारी अनुसार सिलगढी नगर निगमको 44 नम्बर वार्ड अन्तर्गत महकालपल्लीका एकजना टोटो चालकको छोरीको विवाह चयनपाड़ा निवासी निमाई घोषसित हुने गत 5 महिना अगावै निश्चित भएको थियो। यसपछि एक महिना अघि दुवैले कोर्टमा रेजिस्ट्री पनि गरेका थिए। विवाहको दिन निश्चित भएपछि यसको तयारी गर्नको साथै सबै आफन्तजन तथा छर-छिमेकीहरूलाई पनि निमन्त्रणा गरिएको थियो। बेहुलीको घरमा मण्डप अनि पण्डाल समेत बनिसकेको थियो भने मात्र विवाह हुन बाँकी थियो। तर विवाहको सहनाई बज्न ठीक अघि बेहुली घरबाट भागेको बताइएको छ । विवाहको ठीक एक दिन अघि गत शनिवार राति केटी (बेहुली) को परिवारलाई फोन गरेर निमाई घोष (बेहुला)ले विवाह गर्न नमानेको कुरा बताए। अर्कोतिर, केटी पक्षले आरोप लगाए अनुसार 5 महिना अगावै विवाहको लागि दुवै पक्षबाट निश्चित भइसकेको थियो। यसपछि बेहुला निमाई घोष अनि तिनको परिवार पक्षले दहेजको माग गरिरहेको थियो। कानूनी रूपमा रजिस्ट्री पनि गराइएको थियो। यसको साथै सामाजिक नियम अनुसार विवाह गरिने निश्चित भएको थियो। उक्त घटना पछि केटी पक्षको तर्फबाट यसबारे थानामा अभियोग दर्ता गरेपछि पुलिस चयनपाड़ास्थित निमाई घोषको घरमा पुग्दा घरमा ताला झुण्ड्याइएको थियो भने परिवारका कोही सदस्य घरमा थिएनन्। निमाई घोषका छिमेकीहरूको भनाई अनुसार विवाहको ठीक एकदिन अघि गत शनिवार नै केटाका परिवारका सबै सदस्यहरू घर छोडेर गइसकेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *