दाइजोको माग गर्दै प्रताडना गरेपछि सिलगढीमा गृहिणीद्वारा आत्महत्या, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): विवाह गरेको 9 वर्षपछि  दाइजोको माग गर्दै प्रताड़ना दिएपछि अन्तमा सहन गर्न नसकेर गृहिणीले आत्महत्या गरेको मामिला सामु आएको छ। यो घटना सिलगढी नगर निगमको 36 नम्बर वार्ड अन्तर्गत निरञ्जन नगर कलोनीको हो। प्राप्त जानकारी अनुसार, रेखा दासको विवाह गत 2014 मा सिलगढीको 36 नम्बर वार्ड अन्तर्गत निरञ्जन नगर कलोनी निवासी सोनातन दाससित भएको थियो। लोग्ने सनातन दास अनि तिनको ससुराली पक्षले विवाह भएको केही दिनदेखि नै अतिरिक्त दाइजोको माग गरेर गृहिणीलाई प्रताड़ित गर्न थालेको आरोप रहेको छ। यसलाई लिएर घरमा अधिक अशान्ति भएपछि कहिले-काही गृहिणी आफ्नो पिताको घरमा गएर बस्थे। तिनका दुईजना नानीहरू पनि छन्। हिज मंगलवार पनि दाइजोको माग गर्दै लोग्ने र स्वास्नीमाझ विवाद भएको थियो। यसपछि  गृहिणीले घाँटीमा पासो लागेर आत्महत्या गरेको बताइएको छ। घटना पछि तिनको परिवार पक्षले गृहिणीलाई सिलगढी जिल्ला अस्पतालमा लिएर गए तापनि त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनापछि ससुरालीको परिवारका सदस्यहरू निखोज भएका छन्। यसैबीच, मृतक गृहिणीको माता-पिता अनि परिवारका सदस्यहरू भक्कानो फुटाएर रोइरहेका छन्। मृतक गृहिणीको परिवारले रेखालाई हत्या गरेर झुन्डाएको आरोप समेत लगाएको छ। घटनापछि मृतक गृहणीको परिवार पक्षले सिलगढी मेट्रोपलिटन पुलिसको आशीघर आउट पोस्ट थानामा हत्याको अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *