दैलोमा सरकार शिविर मिरिक नगरपालिका अनि विभिन्न वार्डमा सफलता पूर्वक सम्पन्न

मिरिक: मिरिक महकुमा क्षेत्रभरि नै दैलोमा सरकार कार्यक्रम सफलता पूर्वक सम्पन्न भइरहेको अनि शिविरमा मानिसहरूले उत्साहपूर्वक सहभागीता जनाइरहेको मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणीले आज जानकारी गराएका छन्। तिनले ‘पडाये समाधान’ शिविर अघिबाट नै भइसकेको अनि सम्पूर्ण विभागका कर्मचारीहरूले कार्यालयमा नै आम जनताको आवश्यक कार्यहरू लगभग 90 प्रतिशत गरिदिएकोले यसपालिको दैलोमा सरकार कार्यमा मानिसहरूको भीड कम्ती रहेको जानकारी गराउँदै यो हेर्दा आम जनताको समस्याहरू समाधानको बाटोमा गइरहेको बुझ्न सकिने तिनले बताए। दैलोमा सरकार शिविर मिरिक नगरपालिका अनि ग्राम पञ्चायतहरूमा सम्पन्न भइरहेको जानकारी गराउँदै स्कुल कलेजहरू खुल्ला भएपछि विद्यार्थीहरूको पठन-पाठनमा कुनै किसिमको असुविधा नहोस् भनेर शिविर स्कुल अनि कलेज भवनहरूमा सञ्चालन नगरिएको पनि तिनले बताए। तिनले यसपालीको दैलोमा सरकार शिविरमा पनि कन्याश्री, रूपश्री, स्वास्थ्य साथी, लक्ष्मी भण्डार योजना, खाद्य साथी, स्टुडेन्ट क्रेडिड कार्ड, कृषक बन्धु योजना, जमीनको कामकाज, ब्याङ्क खाता, विभिन्न जातीय प्रमाण पत्र,राशन कार्ड लगायत विभिन्न योजनाहरूमा कार्य भइरहेको,जसको लाभ आम मानिसहरूले उठाइरहेको बताए।


तिनले दैलोमा सरकार शिविरमा नि:शुल्क स्वास्थ जाँच शिविर पनि भइरहेको जानकारी गराउँदै ‘चोखेर आलो योजना’ (आँखा उज्यालो योजना) अन्तर्गत जाँच गरेपछि 45 वर्ष भन्दा अधिक उमेर पुगेका आँखा रोगीहरूलाई नि:शुल्क चश्मा पनि वितरण गरिएको बताए। स्वास्थ्य साथी कार्ड र लक्ष्मी भण्डार योजनामा मानिसहरूको ज्यादा उत्साह देखा परेको जानकारी गराँउदै स्वास्थ्य साथी कार्डमार्फत एउटा परिवारका सम्पूर्ण सदस्यहरूले वर्षमा पाँच लाख रूपियाँको उपचार खर्चको लाभ उठाउन सक्नेछन् भनी तिनले अवगत गराए। यता, आज दैलोमा सरकार कार्यक्रम मिरिक नगरपालिका कार्यालय परिसरमा लगायत मिरिक नगरपालिका वार्ड नम्बर 1, 2 र 9 का मानिसहरूले लाभ उठाए। यस अवसरमा थर्बु नन्दलाल गाँउका लोक प्रसार प्रकल्पका कलाकारहरूले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरे। शिविरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमणी, मिरिक नगरपालिका अध्यक्ष एलबी राई पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *