दार्जिलिङ हिल युनिभर्सिटी भवनको निम्ति भाइस चान्सलरद्वारा मङपुमा निरीक्षण, आजदेखि युनिभर्सिटी शुरू भएको आधिकारिक घोषणा

मङपु : दार्जिलिङ हिल युनिभर्सिटीको सञ्चालन गर्नको लागि आज उत्तरबंग विश्वविद्यालयका भाइस चान्सलरले मङपुस्थित जोगीघाटमा आईटीआई भवनको निरीक्षण गरे। यस अवसरमा तिनले पत्रकारहरूसित कुराकानी गर्दै आजदेखि आधिकारिक रूपमा हिल युनिभर्सिटी मङपुबाट शुरू भएको घोषणा गरे। स्मरण रहोस्, गत केही दिन अघि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङमा सम्पन्न भएको प्रशासनिक बैठक अवधि यस वर्षदेखि दार्जिलिङ हिल युनिभर्सिटीको सञ्चालन हुने घोषणा गरेकी थिइन् भने हाल उक्त युनिभर्सिटीको देखरेख गर्नको लागि अस्थायी रूपमा उत्तर बङ्गाल विश्वविद्यालयका भाइस चान्सलरलाई नै दायित्व दिएको छ। यसैले आज तिनले युनिभर्सिटीको क्लास सञ्चालन गर्नको निम्ति मङपुको जोगीघाटमा हाल निर्माणाधीन अवस्थामा रहेको आईटीआईको भवनमा पुगेर त्यसको निरीक्षण गरे। आउँदो सत्रको निम्ति दार्जिलिङ युनिभर्सिटीमा भर्नाको निम्ति भोलिदेखि वेबसाइटमार्फत् भर्ना शुरू हुने भाइस चान्सलरले आज जानकारी गराए।

यस अवसरमा तिनले युनिभर्सिटी सञ्चालन गर्नको निम्ति प्राध्यापकहरू तथा प्रशासनिक अधिकारीहरूको आवश्यकता पर्ने भएकोले गर्दा हाल चाँडै तिनीहरूको नियुक्ति गर्न नसकिएकोले अब केही दिनसम्म उक्त दार्जिलिङ हिल युनिभर्सिटीका विद्यार्थीहरूको निम्ति उत्तर बङ्गाल विश्वविद्यालयकै सम्बन्धित विभागीय प्राध्यापकहरूले अनलाइन मार्फत् क्लासहरू शुरू गर्ने बताए। तथापि, भविष्यमा चाँडै तिनीहरूको नियुक्ति भएपछि अफलाइन क्लासको व्यवस्था शुरू हुने जानकारी दिए। दार्जिलिङको मङपुस्थित मनोरम स्थलमा हिल युनिभर्सिटी शुरू हुनु खुबै राम्रो कुरो रहेको बताउँदै यहाँ राज्यको विभिन्न ठाउँहरू लगायत बाहिरतिरबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउने कुरामा तिनले विश्वास व्यक्त गरे। भाइस चान्सलरसितै हिल युनिभर्सिटी भवनको निरीक्षण अवधि पूर्व प्राध्यापक अमर राई, भागोप्रमो अध्यक्ष अनित थापा, सरस्वती उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा लगायत प्रशासनिक पदाधिकारीहरू उपस्थित थिए।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *