दार्जिलिङ हिल युनिभर्सिटीको मङपुमा विधिवत् उद्घाटन

मङपु: मङपुमा दार्जिलिङ हिल युनिभर्सिटीको उदघाटन आज उत्तर बङ्गाल विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्र अनि मालदा विश्वविद्यालयका उपकुलपति डा. शान्ति छेत्रीको बाहुलीबाट संयुक्त रूपमा गरियो। आजदेखि राज्य सरकारद्वारा मङपुमा निर्मित आईटीआई भवनमा अस्थायी समयको निम्ति दार्जिलिङ हिल युनिभर्सिटीको सञ्चालन शुरू भएको छ। आजको उद्गाटन समारोहमा दार्जिलिङ जिल्लापाल एस.पुन्नम बालम, जीटीए प्रमुख कार्यपाल अनित थापा, जीटीए डेपुटी चीफ सन्चबीर सुब्बा, दार्जिलिङका पूर्व विधायक अमरसिह राई, क्षेत्रीय सभासद रतन थापा लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। दार्जिलिङ हिल युनिभर्सिटी भवनको नवनिर्माण कार्य मङपु लाब्दा विभागको जोगीघाटमा भइरहेता तापनि अनलाईन क्लास भने गत वर्षदेखि नै शुरु भइसकेको छ। यसरी अब अफ् लाईन क्लास आगामी जनवरी 2023 देखि आज उद्घाटन भएको दार्जिलिङ हिल युनिभर्सिटीमा हुने उत्तर बङ्गाल विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रले जानकारी दिएका छन्।


अहिलेलाई भने उत्तर बङ्गाल विश्वविद्यालयका प्राध्यापकहरूले नै विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने अनि सरकारको नियम अनुसार  दार्जिलिङ हिल युनिभर्सिटीमा पनि प्राध्यापक साथै कर्मचारीहरूको नियुक्ति चाँडैं गरिने कुरा उप-कुलपति ओमप्रकाश मिश्रले बताए। यसैगरी, जीटीए क्षेत्रभरिमा मङपु सबै ठाँउको निम्ति एक मात्र केन्द्रिय स्थल भएको कारण नै मङपुको भूमिमा दार्जिलिङ हिल युनिभर्सिटीको शुरुआत गरिएको जीटीए प्रमुख कार्यपाल अनित थापाले बताए। अर्कोतिर, क्षेत्रीय कार्यकारी सभासद रतन थापाले आजको दिन मङपु अनि समस्त पहाडको निम्ति एतिहासिक दिन रहेको अनि आफ्नो कार्यकालामा दार्जिलिङ हिल युनिभर्सिटी मङपुमा शुरु भएकोले हर्ष प्रकट गर्दै राज्य सरकार अनि जीटीए अध्यक्षलाई आभार व्यक्त गरे। यसरी नै, दार्जिलिङका पूर्व विधायक अमरसिह राईले आज जीटीए क्षेत्र अनि पहाडको निम्ति नै दार्जिलिङ हिल युनिभर्सिटी दिए वापत् राज्यका मुख्यमन्त्रीलाई आभार प्रकट गरे। आजको उद्घाटन कार्यक्रममा जीटीए क्षेत्रभरि विभिन्न  कलेजका प्राध्यापकहरू अनि विद्यालयका प्रधान अध्यापक-अध्यापिका साथै उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापकहरू उपस्थित थिए। उद्घाटन कार्यक्रमपछि उप-कुलपति ओमप्रकाश मिश्रले नवनिर्माण भइरहेको दार्जिलिङ हिल युनिभर्सिटी क्षेत्र जोगीघाटको पनि परिभ्रमण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *