दार्जिलिङ जिल्लाशासकले गरे सिलगढीका बजारहरूको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमको केही वार्डहरूमा कोरोनाको संक्रमण बढिरहेको छ। यस्तो परिस्थितिमा सिलगढीको विभिन्न बजारमा भीड नियन्त्रण गर्नको साथै मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले कठोर पहल शुरू गरेको छ। सहरको विभिन्न बजारहरूमा निर्दिष्ट गाइडलाइन जारी गर्नको लागि नगरनिगमको कमिश्नर र महकुमाशासकको नेतृत्वमा एउटा टोली गठन गरेर चाँडै बजार कमिटीसँग एउटा बैठक गर्ने भएको छ। आज दार्जिलिङ जिल्लाशासक एस पन्नमबलमले कोरोना संक्रमणलाई लिएर के-कस्ता पहलहरू अप्नाइरहेको छ भन्नेबारे प्रत्यक्ष जानकारी लिनको लागि सिलगढीको केही बजारहरूको निरीक्षण गरे। निरीक्षण अवधि व्यवसायी समितिका केही सदस्यहरूसित तिनले एउटा बैठक पनि गरे। व्यवसायीहरूले बताएअनुसार सामाजिक दूरीलाई ध्यानमा राखेर दोकान खोल्नुपर्ने साथै बिना माक्स बजार गर्न आएका मानिसहरूलाई सर-समानहरू बिक्री नगर्ने बताए। आज विधान मार्केटका व्यवसायी समितिका सदस्यहरूसँग बैठक गरेपछि जिल्लाशासकले नयाँ कमिटीले केही गाइडलाइन जारी गर्ने अनि त्यहीँ अनुसार नै व्यापारीहरूले आ-आफ्नो दोकान चलाउनुपर्ने बताए। व्यापारीहरूले उक्त गाइड लाइनलाई पालन गरेको छ अथवा छैन भन्नेबारे जानकारी लिनको लागि कमिटीका केही सदस्यहरूले नजरदारी राख्नेछन्। यसको साथै ती कमिटीका सदस्यहरूले व्यापारीहरूलाई आवश्यक सहयोग पुर्‍याउने छन् भने जारी गाइडलाइन पालन नगर्नेहरूलाई कानुनी कार्वाही गरिने भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *