दार्जिलिङको लिङ्गिया चियाबारीमा आगलागी हुँदा दुईवटा घर जलेर खरानी, एउटा घर क्षतिग्रस्त

दार्जिलिङ: दार्जिलिङको लिङ्गिया चियाबारीमा आगलागी हुँदा दुईवटा घर जलेर खरानी बनेको छ भने एउटा घर आगलागीमा क्षतिग्रस्त बनेको छ। आज बिहान लगभग 9 बजी लिङ्गिया चियाबारीमा उमेश साम्पाङ र रमेश साम्पाङको घर आगलागीमा जलेर पूर्ण रूपमा खरानी भएको छ भने पुश्पी राईको घर क्षतिग्रस्त बनेको बताइएको छ। आगलागीको खबर पाएर बिजनबारी अग्निशमन केन्द्रको कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। यसको साथै लिङ्गिया चियाबारीको प्रबन्धक, पुलिस प्रशासन पनि घटनास्थलमा पुगेको जानकारी प्राप्त भएको छ।


गाउँलेहरूको सहयोगमा लिङ्गिया कमानको एक हजार लिटरको पानीको ट्याङ्कीद्वारा उक्त आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएकोले क्षेत्रको बाक्लो गाउँका घरहरूलाई बचाउन सफल भएको बताइएको छ। तथापि, उक्त आगलागीमा दुईवटा घर पूर्ण रूपमा जलेर खरानी भएको साथै एउटा घर क्षतिग्रस्त बनेको थाहा लागेको छ। हिजो रातिदेखि लगातार परिरहेको पानीझरीबीच आज बिहान उक्त आगलागीको घटना कसरी भयो भन्ने विषयबारे कुनै थाहा नलागे तापनि कतै ग्यास सिलेन्डर लिक भएर उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाइएको छ। आगलागीको खबर पाएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरू आगलागी स्थलमा पुगेर केही सहयोग प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *