दार्जिलिङमा अनित थापाले चढाए शहीदहरूलाई श्रद्धाञ्जलि

दार्जिलिङ : गोर्खा जातीय अस्मिताको लडाइँमा प्राणको आहुति दिएर शहीद भएका वीर अनि वीराङ्गनाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न आज दार्जिलिङको भानुभवन परिसरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। बिहानैदेखि शहीद स्मारक परिसरमा तयार गरिएको समारोह स्थलमा पुरोहितहरूले पुजा अर्चना गर्नका साथै शहीदहरूको स्मरणमा पुजा पाठ पनि गरे। उक्त कार्यक्रम स्थलमा उपस्थित भएर गोजमुमो दुईका कार्यवाहक अध्यक्ष अनित थापाले शहीदहरूलाई स्मरण गर्दै फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। तिनले यस अवसरमा भने, गोर्खाको चिन्हारी अनि सुरक्षाको निम्ति शहीद हुने वीर अनि वीराङ्गनामा मेरो नमन्। शहीद हुने केवल लडाकु थिएनन् परन्तु गोर्खा जातिको अस्तित्वको लागि मरिमेट्ने आत्मा हुन्। पत्रकारहरूसितको कुराकानीमा अनित थापाले भने, प्रत्येक वर्ष हामी शहीद दिवस मनाउँछौँ तर आजसम्म शहीदले देखेको सपना पुरा भएको छैन। पहाडमा जति पनि आन्दोलन भयो सबै रणनीति बिना चलाइएको आन्दोलन थियो। आजसम्मको आन्दोलनको इतिहास हेर्दा आन्दोलन गरेर केही हासिल भएको छ जस्तो लाग्दैन। आन्दोलनले उपलब्धि भन्दा पनि धेर गुमाउने कार्य भयो। आवेश आएर चलाइएको आन्दोलनमा हामीले शहीदहरू मात्र बनायौँ, पहाड जलाएर केही हासिल भएन। हाम्रो आफ्नै सम्पत्ति जलाउने किसिमको आन्दोलनले पहाडलाई धेरै पछि लग्यो भने पर्यटन व्यवसाय खत्तम बनायो।


 

तिनले एउटा प्रश्नको जवाबमा हामीलाई केही हासिल हुन्छ भने त्यो डाइलग मार्फत् नै हासिल हुन सक्छ भन्ने दावी गर्दै राज्य सरकारसँग सुमधुर सम्बन्ध राखेर नै काम गर्नुपर्छ भनी बताए। पहाडलाई विकसित गर्नको निम्ति राज्य सरकारसँग सुमधुर सम्बन्ध राखेर काम गर्नुपर्छ भन्दै हाम्रो माग गोर्खाल्याण्ड हो तर यो माग पनि राज्य सरकार मार्फत् नै केन्द्रमा जानेछ। यसैले सिस्टममार्फत् काम गर्नुपर्छ तर सिस्टमदेखि बाहिर काम गरेर हुँदैन। शहीदको परिवारलाई वर्षमा एकपल्ट सम्झेर मात्र केही हुँदैन। भोलिको दिन राम्रो व्यवस्था आएको दिन हामी शहीदको परिवारको निम्ति केही न केही अवश्य गर्नेछौँ तर अहिले नै यस्तो गर्छु, उस्तो गर्छु भन्न नसक्ने तिनले बताए। आजको शहीद दिवस कार्यक्रममा पार्टीका शीर्ष नेताहरू केशवराज पोख्रेल, तिलक देवान, अमृत योञ्जन, प्रतिभा राई, सपना छेत्री, पासाङ अग्रवाल, निर्मल छेत्री आदिको पनि प्रमुख उपस्थिति रहेको थियो। कोभिड प्रोटोकललाई ध्यानमा राखेर थोरै मानिसहरूलाई मात्र कार्यक्रम आयोजना गरिएको स्थलमा पस्न दिएको देखियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *