दार्जिलिङमा बाहिरबाट आउनेहरूको जाँचको लागि 3 वटा ट्रान्जिट क्याम्प

दार्जिलिङ : देशका विभिन्न राज्यहरूबाट फर्किआउने मानिसहरूको निम्ति जीटीएले दार्जिलिङ शहरमा विशेष गरेर 3 वटा ट्रान्जिट क्याम्प शुरू गरेको छ। जीटीए सूत्रले दिएको जानकारीअनुसार दार्जिलिङको भानु भवन, स्टरलिङ्क होटल र पाइन ट्री होटलमा हाल बाहिरबाट घर फर्किरहेका जीटीए क्षेत्रका सबैजनालाई यहीँ ट्रान्जिट क्याम्पमा सर्वप्रथम ल्याएर राखेपछि तिनीहरूको स्वास्थ्य जाँच लगायत अन्य आवश्यक विस्तृत रूपमा फारम भरिने कार्य गर्दै आइरहेको छ। जीटीए क्षेत्रमा बाहिरबाट आउनेहरूलाई सोझै गाउँ-घरमा नपठाएर यी 3 वटा ट्रान्जिट क्याम्पमा तिनीहरूको स्क्यानिङ गर्नको साथै एक रात राखेर स्वास्थ्यबारे जाँच गरिने छ। यसपछि कुनै प्रकारको संक्रमणको सङ्केतहरू नभेट्टाइए तिनीहरूलाई जीटीएकै तर्फबाट वाहनमा आ-आफ्नो घरमा पुर्याउने व्यवस्था गरिएको छ। यसको साथै गाउँ-घरमा जान अघि तिनीहरूलाई जीटीएको स्वास्थ्य विभागद्वारा आधिकारिक रूपमा कुनै संक्रमण नभएकोबारे प्रमाण पत्र दिइने गरिन्छ। यी तीनैवटा ट्रान्जिट क्याम्प लगायत वाहनहरूमा राम्ररी सेनिटाइज गरिनको साथै तिनीहरूको बस्ने, खाने सबै उचित व्यवस्था जीटीएले मिलाएको छ।


यसबाहेक यहाँ जिल्ला अस्पतालका नर्सहरूद्वारा प्रत्येकको थर्मल स्क्यानिङ लगायत तिनीहरूको तापक्रम जाँच गर्ने गरिन्छ। कतिपय गाउँ-बस्ती क्षेत्रहरूमा बाहिरबाट आएका मानिसहरूसित दुर्व्यवहार गरिएको केही घटनाहरू प्रकाशमा आएपछि नै जीटीएले बाहिरबाट आउने सबैजनाको यी 3 वटा ट्रान्जिट क्याम्पहरूमा स्वास्थ्य जाँच गरेपछि घर पठाइने व्यवस्था गरिएको हो भनी बताइएको छ। यदि कुनै पनि व्यक्ति कोरोना संक्रमित रहेको आशंका लागेमा तिनीहरूलाई सम्बन्धित क्वारेन्टाइन सेन्टर अथवा कोभिड अस्पतालमा यहाँबाट सोझै रेफर गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *