दार्जिलिङमा हिउँ परेपछि कठयाङ्ग्रिने जाडो, पर्यटकहरुले उठाए हिउँको आनन्द

दार्जिलिङ : दार्जिलिङ सहर लगायत संलग्न विभिन्न क्षेत्रहरूमा हिउँ परेपछि जाड़ो निक्कै बढ़ेको छ। दार्जिलिङको सुदुर उत्तर पश्चिममा रहेको सन्दकपु जाने बाटोको तुमलिङ डाँड़ामा आज बिहानै हिउँ परेर सेताम्मे भएको देखियो। त्यसरी नै दार्जिलिङ सहर अनि यसको संलग्न क्षेत्रहरूसितै घुम-जोरबंगला क्षेत्रमा पनि हिउँ परेर मौसम अत्यन्तै चिसो बनेको छ। दार्जिलिङ घुम्न आउने पर्यटकहरुको लागि मौसम निक्कै चिसो बने तापनि हिउँ परेकोले पर्यटकहरू निक्कै रमाएका छन्। दार्जिलिङ जाने बाटोमै रहेको जोरबंगलो र घुम क्षेत्रमा हिउँ परेर सड़कतिर नै आज दिनभरि जसो फोटो खिँच्नेहरूको संख्या निक्कै देखियो। दार्जिलिङको उच्च स्थानमा रहेको पर्यटकीय स्थल टाईगर हिलमा पनि हिउँ परेकोले पर्यटकहरुले हिउँको आनन्द लिएका छन्।


टाइगर हिल क्षेत्र आज बिहानैदेखि हिउँले सेताम्मे भएर छोपिएको छ। टाइगर हिलको साथै खरसाङको उच्च स्थानहरू चटकपुर र बागौडातिर पनि हिउँ परेको छ। यसको साथै सोनादा क्षेत्रमा पनि हिउँ पर्ने सम्भावना अधिक देखिएको छ। आज दिउँसो दार्जिलिङ सहर लगायत यहाँको केही उच्च स्थानतिर हिउँ परेपछि घुम्न आउने पर्यटकहरूले हिउँको आनन्द उठाएको देखियो भने बिहानदेखि नै बिजुली बत्तीको सर्वराह ठप्प भएकोले गर्दा स्थानीय मानिसहरूले भने समस्याको सामना गर्न परिरहेको गुनासो पोखेका छन्। दार्जिलिङ पहाड़को उच्च स्थानतिर हिउँ परेकोले गर्दा मौसम निक्कै चिसो बढेर कठ्याङग्रिने जाड़ो बढ़ेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *