दार्जिलिङ नगरपालिका चुनाउ: विधायक निरज जिम्बाले गोरामुमो प्रार्थीको पक्षमा 23 नम्बर वार्डमा गरे चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको निम्ति गोरामुमोले पनि आफ्नो उम्मेद्वारहरूको समर्थनमा प्रचार प्रसारलाई तीव्र गतिमा अघि बढाइरहेको छ। यसैक्रममा आज वार्ड नम्बर 23 का गोरामुमो उम्मेद्वार अञ्जली थापाको पक्षमा विधायक निरज जिम्बाले पार्टीका नेताहरू एमजी सुब्बा, किशोर गुरुङ, मणिकला तामाङ, वाई लामा, सन्दिप लिम्बू, संजोक गुरुङ लगायत नारी मोर्चाका प्रतिनिधिहरूसित व्यापक चुनाउ प्रचार गरे। वार्डमा प्रचार पछि 23 नम्बर वार्ड गौसालामा आयोजित जनभेलालाई सम्बोधन गर्दै विधायक निरज जिम्बाले भने, दार्जीलिङलाई पहिला हाम्रो दार्जिलिङ बनाउन पर्छ, जब हाम्रो दार्जिलिङ हुन्छ तब विकास पनि हुन्छ। यहाँ विभिन्न भेष बद्लिएर बंगालको एजेन्ट भएर घुम्दैछन्, तिनीहरुको ट्रेन केवल कोलकातासम्म मात्र हो। दार्जिलिङ नगरपालिका चुनाउमा पनि दार्जिलिङवासीले गोर्खाले स्थायी राजनैतिक समाधान चाहन्छ गत 2021/22 को चुनाउमा गोर्खाले बंगालको तानाशाह विरुद्ध आफ्नो मतदान गरेका थिए किनभने बंगाल सरकार गोर्खाहरुले न्याय पाएको हेर्न चाहदैन।


केन्द्र सरकारले मात्र हाम्रो समस्या समाधान हुनेछ, राजनीतिमा धैर्यधारण हुनपर्छ भनी तिनले बताए। दार्जीलिङ नगरपालिकामा केन्द्र सरकारको योजना अनुरुप धेरै कार्यहरु भएको तर बंगाल सरकारले नाम परिवर्तन गरेर कार्यहरु गरिरहेको विधायक जिम्बाले बताए। तिनले अझ भने, बंगाल सरकार ऋणमा छ, आफ्नो कर्मचारीहरुलाई वेतन समेत दिन नसक्ने अवस्थामा छ। भर्खरै मात्र आवास योजना अन्तर्गत धेरै भ्रष्टाचार गरेको हल्ला छ, त्यो पनि प्रधानमन्त्री आवास योजना हो तर त्यो पनि नाम परिवर्तन गरेर जनतालाई छल्ने कार्य गर्दैछ। चुनाउ आउँछ जान्छ, हार जीत हुन्छ तर चुनाउ पछि पनि राजनीति सकिँदैन र गोर्खाहरुको मुलभूत समस्या अनि मुद्दाको निम्ति गोरामुमो लागी पर्ने विधायक निरज जिम्बाले बताए। यसैगरी, विधायक रुदेन सादा लेप्चाले चुनाउ प्रचार अवधि दिएको वक्तव्यको खण्डन गर्दै सन्दिप लिम्बूले भने, अल्पसंख्यक समुदायबारे दिएको आपत्तिजनक बयान माथि तिनले आम माफी माग्नु पर्छ। दार्जीलिङ भनेको एउटा सुन्दर बगैचा हो, यो बगैचामा हरेक किसिमका फुलहरू फुलेको असल हो। दार्जिलिङमा वसोवास गर्ने सबै समुदाय एउटै हो तर यसरी नाना थरीको बयान दिएर गाली गर्नु हुँदैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *