दार्जिलिङ नगरपालिका चुनाउको अन्तिम दिन विभिन्न पार्टीका नेताहरूले गरे जोडतोडले चुनाउ प्रचार

दार्जिलिङ : राज्यभरिकै 108 वटा नगरपालिका लगायत दार्जिलिङ नगरपालिका चुनाउको प्रचार अभियान आज शुक्रबार अपरान्ह 5 बजी समाप्त भयो। आगामी 27 फरवरीको दिन सम्पन्न हुने दार्जिलिङ नगरपालिका चुनाउ प्रचारको अन्तिम दिन आज विभिन्न राजनैतिक पार्टीका नेता तथा निर्दलीय प्रार्थीहरूले मतदाताहरूलाई भोटको अपील गर्दै जोडतोडले चुनाउ प्रचार गरे। विशेष गरेर यसपल्टको दार्जिलिङ नगरपालिका चुनाउमा हालै गठन गरिएको नयाँ पार्टी हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकाको सबै 32 वटा वार्डमा नै आफ्नो उम्मेद्वार दिएको छ भने आज चुनाउ प्रचारको अन्तिम दिन आयोजित चुनाउ समापन कार्यक्रममा पार्टीका अध्यक्ष अजय एडवर्डले सबै उम्मेद्वारहरू लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई अग्रिम शुभकामना दिनको साथै चुनाउ अवधि रात दिन खट्नेहरूलाई पनि धन्यवाद दिए। यसबाहेक दार्जिलिङको सुख, शान्ति तथा विकास, समृद्धिको कामना गर्दै परेवा पनि उडाए।


अर्कोतिर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि यसपल्टको दार्जिलिङ नगरपालिका चुनाउमा 32 वटै आसनमा आफ्नो उम्मेद्वारहरू खडा गरेको छ भने पार्टी अध्यक्ष अनित थापा, विधायक रूदेन सादा लेप्चा लगायत पार्टीका शीर्ष नेताहरूले आफ्नो उम्मेद्वारहरूको पक्षमा विभिन्न वार्डहरूमा गएर भोटको निम्ति अपील गरेको देखियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट आज चुनाउ प्रचारको अन्तिम दिन पनि विभिन्न वार्डहरूमा प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गर्दै भोटको निम्ति अपील गरे। यसैगरी, यसपल्टको नगरपालिका चुनाउमा गोरामुमोले भाजपासित गठबन्धन गरेर चुनाउ लड्ने भएको छ। दार्जिलिङ नगरपालिकाको मोठ 32 वटा आसनमध्ये गोरामुमोले 24 वटा आसनमा अनि रहल 8 वटा आसनमा भाजपाको उम्मेद्वारलाई चुनाउ मैदानमा उतारेको छ। आज चुनाउ प्रचारको अन्तिम दिन दार्जिलिङको क्लब साइडमा भाजपाका राष्ट्रिय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा लगायत उम्मेद्वारहरू तथा शीर्ष नेतृत्व अनि समर्थकहरूको साथमा चुनावी जनसभाको आयोजना गरियो। उक्त जनसभा शुरू हुन अघि गोरामुमोले पार्टी कार्यालयबाट एउटा चुनावी र्‍याली पनि निकाल्यो। आज चुनावी जनसभालाई सम्बोधन गर्न दार्जिलिङ आइपुगेका सांसद राजु विष्टलाई हालसम्म पनि भाजपाले पहाडको स्थायी राजनैतिक समाधान पुरा नगरेको तथा 11 जातिलाई जनजातिको मर्यादा दिन नसकेकोबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा तिनले भने, दार्जिलिङ पहाड, तराई अनि डुवर्सको जनताले 2024 अघि न्याय नपाए म राजनीतिबाट सन्न्यास लिइनेछु साथै भविष्यमा कुनै पनि चुनाउमा प्रतिस्पर्धा गर्ने छुइनँ।


अर्कोतिर, दार्जिलिङ नगरपालिका चुनाउमा यसपल्ट गोजमुमो पार्टीले राज्यको सत्तारूढ दल तृणमूल कङ्ग्रेससित गठबन्धन गरेर उम्मेद्वारहरू चुनाउ मैदानमा उतारेको छ। मोठ 32 वटा आसनमध्ये गोजमुमोले 22 वटा आसनमा अनि रहल 10 वटा आसनमा तृणमूल कङ्ग्रेसका उम्मेद्वारहरू चुनाउ मैदानमा छन्। चुनाउ प्रचारको अन्तिम दिन आज चुनावी जनसभा गोजमुमो अध्यक्ष बिमल गुरूङको प्रमुख उपस्थितिमा सम्पन्न गरियो भने यस अवसरमा पार्टीका विभिन्न शीर्ष नेतृत्वहरू पनि उपस्थित थिए। चुनावी सभालाई सम्बोधन गर्दै बिमल गुरूङले भने, यसपालीको दार्जिलिङ नगरपालिका चुनाउ जातिको शान र जातिको स्वाभिमान हो भन्दै आफ्नो पार्टीका उम्मेद्वारहरूको पक्षमा दार्जिलिङवासीलाई भोटको निम्ति अपील गरे। तिनले दार्जिलिङ नगरपालिकाको गत बोर्डमा व्यापक भ्रष्टाचार भएको गम्भीर आरोप लगाउँदै यदि आफ्नो पार्टीले बोर्ड गठन गरे उक्त भ्रष्टाचारको जाँच गरिने बताए। यसको साथै आजदेखि चुनाउ प्रचार सके तापनि चुनाउ हुन अघि दुई दिनको अवधिमा विभिन्न विपक्षी पार्टीकाहरूले रुपियाँको चलखेल गर्न सक्ने आशंका व्यक्त गर्दै त्यस्ताहरूबाट सबैलाई सतर्क रहने बिमल गुरूङले आहवान पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *