दार्जिलिङ प्रस्थान गर्नअघि जगदीप धनखड़ले राज्य सरकारमाथि कसे कटाक्ष

सिलगढी : राज्यपाल जगदीप धनखड़ हिजो एक महिनाको लागि उत्तरबंग भ्रमणमा आएका छन्। तिनी आज दार्जिलिङको लागि सिलगढीबाट प्रस्थान गरे।  दार्जिलिङ प्रस्थान गर्न अघि तिनले सिलगढीको सर्किट हाउसमा पत्रकारहरूलाई सम्बोधन गरे। गोजमुमोका भूमिगत अध्यक्ष बिमल गुरूङले केही दिन अघि पत्रकार सम्मेलनमार्फत् आगामी 2021-को चुनाउमा तृणमूल कांग्रेसलाई सघाउने घोषणा गरेका थिए। यस विषयमा राज्यपाल धनखडले कटाक्ष कस्दै भने, यदि कुनै साधारण मानिसले कुनै वान्टेड व्यक्तिसित भेट गरे तब त्यो गलत मानिन्छ तर संवैधानिक पदका अधिकारी कुनै वान्टेड व्यक्तिसित भेट गरे त्यो गलत हुँदैन। अर्कोतिर, तिनले भारतीय संविधानमा सबै समस्याको समाधान छ। जब राम मन्दिर र धारा 370 जस्ता मामिलाको समाधान हुनसक्छ भने गोर्खाल्याण्डको समाधान सम्भव छ भन्दै तिनले गोर्खाल्याण्ड मुद्दालाई लिएर यस प्रकारको मन्तव्य व्यक्त गरे। राज्यपालले दार्जिलिङका डीएम र एसपीलाई जनताको हितमा काम गर्ने सुझाउ दिए। राज्यमा कानुन व्यवस्था ठीक नरहेको बताउँदै यहाँ दिनप्रतिदिन हिंसाको घटनाहरू बढिरहेको दावी गरे। राज्यमा अलकायदा जस्ता आतङ्की संगठन विस्तारै-विस्तारै फैलिरहे तापनि राज्यका इन्टेलिजेन्स ब्युरो लगायत उच्च अधिकारीहरूले कुनै पहल नगरेको तिनले बताए।  अर्कोतिर,  राज्यपाल धनखडले केन्द्र सरकारको प्रशंसा गरे। तिनले 2014-मा भारतमा एउटा नयाँ इतिहासको शुरूआत भएको बताउँदै एउटा पार्टी पूर्ण बहुमतको साथमा सत्ता आएको अनि फेरि 2019-मा पनि यथावत् रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *